शेयर बजारमा चमक देखियाे, कारोबार रकम पनि बढ्यो

-



     सफल आवाज    
     असाेज २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० असोज । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेप्सेमा चमक देखिएकाे छ। केहि हप्तादेखि ओरालो लागिरहेको शेयर बजारमा मंगलबारबाट सुधार देखिएको हो । नेप्सेमा दोहोरो अंको बृद्धिसंगै १३ वटै उपसमूहमा हरियाली छाएको छ । अघिल्लो दिनको भन्दा कारोबार रकममा दोब्बर बृद्धि भएको छ । यसले लगानीकर्तालाई खुसि बनाएको छ ।

लगानीकर्ताहरु लघुवित्ततिर आकर्षित भएका छन् । आजको कारोबारले पनि त्यहि देखाएको छ कि बढी कारोबार गर्ने र नाफा पनि कमाउनेहरुमा धेरैजसो लघुवित्तहरु नै रहेका छन् ।

यो समयमा लघुवित्त कम्पनीहरुको लाभांश घोषणाकाे समय पनि भएकाे छ । किनकी उनीहरुले लाभांश घोषणा गरिरहेका छन् भने लगानीकर्ताहरुको ध्यान लघुत्तितिर गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.१० विन्दुमा पुगेको छ । नेप्सेमा २.६२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १२.७२ अंकले बढेर ५०४.७३ विन्दुमा पुगेको छ ।

कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । ८१ लख ८९ हजार ८९० कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैको शेयर बढेको छ । बैंकिङतर्फ १.२५ प्रतिशत, व्यापारतर्फ २.११ प्रतिशत, होटल तथा पर्यटनतर्फ ०.९३ प्रतिशतले बृद्धि भएको छ ।

यस्तै विकास बैंकतर्फ ४.८२ प्रतिशत, हाइड्रोपावरतर्फ ३.४३ प्रतिशत, फाइनान्सतर्फ ६.५९ प्रतिशत, नीर्जिवन बीमातर्फ ३.५१ प्रतिशत, उत्पादनतर्फ ३.८९ प्रतिशत, अन्यतर्फ १.८७ प्रतिशत, माइक्रोफाइनान्सतर्फ ५.८ प्रतिशत, जीवन बीमातर्फ १.७६ प्रतिशत, म्युचुअल फण्डतर्फ १.५६ प्रतिशत तथा लगानी उपसमूहतर्फ २.६२ प्रतिशतले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको २३ करोड ४३ लाख ७ हजार ९२७ रुपैयाँ चालिस पैसा बराबरको कारोबार भएको छ ।