मध्य भोटेकोशीको आइपीओमा पर्यो १५ लाख ६२ हजार बढीको आवेदन

-



     सफल आवाज    
     असाेज २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेबाट सर्वसाधारण जनताका निष्काशन गरेको ९० करोड रुपैयाँ बराबरको आइपीओमा हालसम्म १५ लाख ६२ हजार १८० जनाले आवेदन पेश गरेका छन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आजसम्म १५ लाख ६२ हजार १८० जना आवेदकले २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ९२ हजार २९० कित्ता शेयरको लागि आवेदन पेश भएको छ । कम्पनीले असोज २० गतेबाट सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

कुल शेयरबाट ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीका लागि रहेको छ । ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा लगानी गर्न चाहने लगानीकर्ताहरुले असोजको २५ गतेसम्म आवेदन दिन पाउने भएका छन् । सो मितिसम्म माग बमोजिमको आवेदन नपरेको खण्डमा कार्तिक ३ गतेसम्म आवेदन दिन पाईने भएको छ ।

शेयरमा लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । उनीहरुले सेबोनबाट अनुमति पाएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन् ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५० करोड रहेको छ । आयोजनाबाट पभावितका लागि ६० करोड तथा सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशनपछि चुक्तापूँजी ६ अर्ब पुग्नेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।