विश्वमा एक करोड ८४ लाख ७० हजार बढी कोरोना सङ्क्रमण मुक्त

-



     सफल आवाज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित



१८ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८४ लाख ७० हजार २६५ व्यक्ति कोरोना मुक्त भएका छन् । यद्यपी विश्वमा दुई करोड ६२ लाख ११ हजार ८८९ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ ।

संगठनका अनुसार बिहीबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ६८ हजार ८० जनाको मृत्यु भएको छ । हाल विश्वमा ६८ लाख ७३ हजार ४४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ५८३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६२ लाख ९१ हजार ६२७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख ४७ हजार ९२६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९० हजार १४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख १ हजार ४२२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख १० हजार ४०५ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २३ हजार ८९९ जनाको मृत्यु भएको छ ।

भारतमा ३८ लाख ५३ हजार ४०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २९ लाख ७० हजार ४९२ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ४८६ जनाको मृत्यु भएको छ ।(रासस/एएफपी)