नेप्से परिसूचकसंगै कारोबार रकम बढ्याे, लगानीकर्तामा थपियो उत्साह

-



     सफल आवाज    
     कार्तिक ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ कात्तिक । साताको कारोबार हुने दोश्रो दिन साेमबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचकसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । यसले लगानीकर्तामा उत्साह थपेको छ ।

यसदिन सबैभन्दा बढी फाइनान्स उपसमूहतर्फ १७६.४९ अंकको अर्थात ७.८१ प्रतिशतले बृद्धि भएको छ । हाइड्रोपावर उपसमूहतर्फ २००.८२ अर्थात ७.५७ प्रतिशतले बृद्धि भएको छ । यस्तै विकास बैंक उपसमूहतर्फ ३०१.३३ अंकले बृद्धि अर्थात ६.५ प्रतिशतले बृद्धि भएको छ । अन्य दिनहरुको तुलनामा आजको कारोबारमा भने केहि प्रगति भएको देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा उक्लिएको छ । नेप्से ३.३९ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स १३.६१ अंकले बढेर ५०४.५७ विन्दुमा रहेको छ ।

कुल २२९ कम्पनीको शेयर कारोबार भएको छ । ८३ लाख ९५ हजार ८६४ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ३० करोड ८८ लाख ५ हजार ५७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैको शेयर बढेको छ । बैंकिङ उपसमूहतर्फ २.०७ प्रतिशतको बृद्धि भएको छ । व्यापारतर्फ सबैभन्दा कम ०.५३ प्रतिशत, होटल तथा पर्यटनतर्फ २.७२ प्रतिशत, विकास बैंकतर्फ ६.५ प्रतिशत, हाइड्रोपावरतर्फ ७.५७ प्रतिशले बृद्धि भएको छ ।

यस्तै फाइनान्सतर्फ ७.८१ प्रतिशतले बृद्धि भएको छ । नीर्जिवन बीमातर्फ ४.०६ प्रतिशत, उत्पादनतर्फ २.३३ प्रतिशत, अन्यतर्फ २.६३ प्रतिशत, माइक्रोफाइनान्सतर्फ २.३६ प्रतिशत, जीवन बीमातर्फ ३.७३ प्रतिशत, म्युचुअल फण्डतर्फ १.०९ प्रतिशत तथा लगानी उपसमूहतर्फ ४.२२ प्रतिशतले बृद्धि भएको छ ।

कारोबारको आधारमा महालक्ष्मी विकास बैंक सबैभन्दा अगाडी देखिएको छ । बैंकको १६ करोड २५ लाख २३ हजार ८५९ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।