१८.०६ अंकले बढ्यो नेप्से, कारोबार रकममा निरन्तर बृद्धि

-



     सफल आवाज    
     कार्तिक १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० कात्तिक । साताको चौथो दिन बुधबार पनि शेयर बजारको यात्रा उकालोतिरै लाग्यो । चार उपसमूह बाहेक बाँकी ९ वटा उपसमूहमा हरियाली छाएको छ भने कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेको छ । लगातार दोश्रो दिन शेयर बजार सकारात्मक देखिएपछि लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा उक्लिएको छ । नेप्से ०.६६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.४९ अंकले बढेर ५१६.५६ विन्दुमा पुगेको छ ।

कुल २२८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज होटल तथा पर्यटन उपसमूह, विकास बैंक, हाइड्रोपावर उपसमूह र उत्पादन उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको शेयर घटेको छ ।

बैंकिङ, व्यापार, फाइनान्स, नीर्जिवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियाली छाएको छ । सबैको शेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको ४३ करोड १९ लाख ३१ हजार ५३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।