नेप्सेमा छायो हरियाली, सूचकहरुसंगै कारोबार रकममा बृद्धि

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार शेयर बजारमा हरियाली छाएको छ । सूचकहरुकासाथै कारोबार रकममा पनि बृद्धि भएको छ । पछिल्लो सातादेखि शेयर बजारको यात्रा उकालोतिर लागेपछि लगानीकर्ताहरु उत्साहि भएका छन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ विन्दुमा उक्लेको छ । नेप्से १.९९ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा पुगेकाे छ ।

कुल २३२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये बैंकिङ उपसमूहमा मात्रै रातो लागेको छ । बाँकी १२ वटै उपसमूहमा हरियाली छाएको छ ।

व्यापार उपसमूह, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियाली छाएको छ । सबैको शेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत कम्पनीको ३१ करोड ५७ लाख १५ हजार २७२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।