साना किसान लघुवित्तको वित्तीय अवस्था सुधार, नाफामा बृद्धि

-



     सफल आवाज    
     कार्तिक २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ कात्तिक । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्थामा सुधार देखिएको छ । संस्थाको सार्वजनिक भएको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वित्तीय सूचकहरुमा सुधार देखिएको हो ।

लघुवित्तको यस आर्थिक वर्षको असोज महिनाको अन्त्यसम्म १६ करोड ५४ लाख ७ हजार खुद नाफा भएको छ । गत वर्ष सोहि अवधिमा संस्थाको नाफा १४ करोड ३० हजार रहेको थियो । साना किसान लघुवित्तको खुद ब्याज आम्दानी तथा संचालन मुनाफामा बृद्धि भएपछि खुद नाफामा बृद्धि हुन टेवा पुगेको हो ।

लघुवित्तको खुद ब्याज आम्दानी ११.९० प्रतिशत बढेको छ । संचालन मुनाफा १४.५६ प्रतिशत र कुल संचालन आम्दानी १४.५६ प्रतिशत बढेको छ । समिक्षा अवधिमा संस्थाको चुक्ता पूँजी २५.१२ प्रतिशत देखिएको छ । जगेडा कोषमा १८.३५ प्रतिशत, सापटी १५.९५ प्रतिशत र कर्जामा २९.२६ प्रतिशत बढेको छ ।

लघुवित्तको नाफामा बृद्धि भएपनि शेयर आम्दानी घटेको छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँ १३ पैसा घटेर ५२ रुपैयाँ ८७ पैसा भएको छ । असोजको अन्त्यसम्म मूल्य आम्दानी अनुपात ३३.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २९९ रुपैयाँ ४२ पैसा रहेको छ ।