लगातार ओरालो लाग्दै आएको शेयर बजारमा छायो हरियाली

-



     सफल आवाज    
     मंसिर १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । केहि दिनको करेक्सनपछि शेयर बजार सकारात्मक लयमा फर्किन लागेको संकेत मिलेको छ । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेप्सेमा हरियाली छाएको छ । नेप्से परिसूचक तथा सेन्सेटिभ इण्डेक्स दुबैमा सामान्य बृद्धि भएको छ ।

गएको शुक्रबार नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपछि लगानीकर्तामा चीसो पसेको थियो । बैंकले शेयर कर्जामा तोकेको ४÷१२ नीतिमा परिवर्तन नगरेपछि त्यसको प्रभाव शेयर बजारमा परेको थियो ।

यसदिनको नेप्सेको उकालो लागेको यात्राले लगानीकर्ताहरुलाई अब बजार सकारात्मक लयमा फर्किएला भन्ने आशा जगाएको छ । तर समग्रमा कारोबार रकम भने झन् घटेको छ । १३ उपसमूहमध्ये ४ मा रातोको लागेको छ र बाँकी ९ वटा उपसमूहमा हरियो लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज )नेप्से)का अनुसार नेप्से ५.२८ अंकले बढेको छ । यसरी बढेको नेप्से २६३३.६५ विन्दुमा उक्लेको छ । नेप्सेमा ०.२० प्रतिशतको बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.८९ अंकले बृद्धि भई ४९६.७४ विन्दुमा पुगेको छ ।

कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । ५३ लाख १० हजार २१५ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार १३ उपसमूहमध्ये ९ वटामा हरियो लागेको छ । उनीहरुको शेयर बढेको छ । अन्य ४ उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ । बैंकिङ, व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन, अन्य, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको छ । होटल तथा पर्यटन, नीर्जिवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा नेपाल टेलिकम सबैभन्दा अगाडी देखिएको छ । टेलिकमको १४ करोड ५३ लाख ९३ हजार ९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।