
काठमाडौं, २१ मंसिर । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले आगामी तीन साता भित्रैमा परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको उद्योगले जनाएको छ ।
‘हामी परीक्षण उत्पादनको अन्तिम तयारीमा छौं । आवश्यक उपकरण जडान भइसकेको तथा केही सामान्य काम मात्रै बाँकी छ । ती पनि केही दिनभित्रै सकिन्छ,’ हवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले भने । नेपाली र चिनियाँ व्यवसायीले संयुक्त लगानी रहेको उद्योगमा सोमबारदेखि विद्युत् उपलब्ध भएको छ । मर्स्याङ्दी काठमाडौं १३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको हो ।
नेपाल विद्युत् प्राधिकरणले सबै उद्योगमा क्षमता अनुसारको थप बिजुली माग गर्न र थप लोड स्वीकृतिका लागि अनुरोध गरिरहेको बेला सो उद्योगमा समेत लाइन जोडिइ सञ्चालनमा आएको छ । हवासिन सिमेन्टका उपमहाप्रबन्धक पोखरेलका अनुसार गत कात्तिकमा नै स्वीचिङ स्टेसन सञ्चालनमा आएको थियो । धादिङको सिद्धलेक गाउँपालिका-६ मा निर्माण भएको स्वीचिङ स्टेशनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि सोमबारदेखि उद्योगमा नियमित रुपमा बिजुली उपलब्ध भएको हो ।
प्रसारण लाइन निर्माण उद्योग आफैंले गरेको हो । त्यसका लागि मात्रै करिब एक अर्ब रुपैयाँ बराबरको खर्च भएको उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए । तनहुँको तल्लो मस्र्याङ्दी विद्युत गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेशनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) निर्माण गरिएको छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत उपलब्ध गराइएको छ । सो स्वीचिङबाट सिमेन्ट उद्योगले कूल २० मेगावाट विद्युत लिने छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उद्योगमा विद्युत् खपत गराउन देश दौहाडामा लागि रहेका बेला राजधानी काठमाडौं नजिकैको उद्योगमा २० मेगावाट बिजुली खपत हुन लागेको हो । सोमबार बेनीघाट रोराङ गाउँपालिकाले प्रसारण लाइन सञ्चालनमा आउन लागेको भन्दै टावरको वरीपरी नजान एक सूचनामार्फत् स्थानीयवसीलाई आग्रह गरेको थियो ।
बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा निर्माणाधीन उद्योगले एक वर्षमा नै स्वीचिङ स्टेशन निर्माण गरेको हो । स्वीचिङ स्टेशनबाट उद्योग परिसरम्म करिब १४ किलोमिटर प्रसारण लाइन र १३२ केभी क्षमताको सबस्टेशन निर्माण भएको छ । प्राधिकरणको प्राविधिक सहयोग एवं सुपरीवेक्षणमा स्वीचिङ स्टेशन र सबस्टेशन निर्माण भएको हो । कार्यकारी निर्देशक घिसिङका अनुसार स्वीचिङ स्टेशन निर्माण भएपछि धादिङको विद्युत् आपूर्तिमा सुधार भएको छ । सामान्य हावाहुरी आउँदा प्रभावित हुने धादिङको विद्युत् आपूर्तिमा गुणात्मक सुधार आउनेछ । त्यसका लागि ३३ र ११ केभी क्षमताका वितरण लाइन निकालिने छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



