नेपाल लाइफको ‘नेपाल लाइफ समुन्नत जीवन’ योजना सार्वजनिक

-



     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना मंगलबार सार्वजनिक गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नयाँ जीवन बिमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको जनाएको छ ।

विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको भन्दै विभिन्न योजनाहरु सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्य तीव्र गतिमा अघि बढेका छन् । यस्तो विकास निर्माणका काममा जोखिम बढिरहेको हुन्छ । साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर नेपाल लाइफ समुन्नत जीवन जीवन बिमा योजना ल्याएको हो । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बिमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बिमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले सो बिमा योजना सार्वजनिक गरेको हो ।’ विज्ञप्तिमा भनिएको छ ।

यस योजनाको आकर्षण बिमा अवधिभित्र बिमितको दुर्घटनाका कारण मृत्यु भएमा बिमांक रकमको तेब्बर र आर्जित बोनस बिमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्ने जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार बिमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बिमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बिमा शुल्क तिरेर बिमांक रकम बराबर वा अधिकतम ५० लाख रुपैयाँ सम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ ।

बिमालेखको बिमा समाप्ति अधिकतम ६५ वर्ष उमेर तोकिएको छ भने ५० हजारदेखि एक करोड सम्मको बिमांक रकमको बिमा गर्न सकिने नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सका अनुसार वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा बिमा शुल्क भुक्तानी गर्न सकिने ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजनामा वार्षिक बिमा शुल्क तिर्ने तरिका लिँदा १ प्रतिशत छुट, त्रैमासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ ।