सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकमसमेत बढेन

-



     सफल आवाज    
     मंसिर २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । लगातार ओरालो लागेको नेप्से आज पनि ऋणात्मक विन्दुमा प्रवेश गरेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५.८४ अंकले घटेर दुई हजार ४४९.९७ अंकमा झरेको हो । आज सेन्सेटिभ परिसूचक भने झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४३ अंकले बढेर ४६५.२३ अंकमा प्रवेश गरेको छ । आज दिनभर २३१ कम्पनीका ६२ लाख २३ हजार ७२१ कित्ता सेयर दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ रुपैयाँमा किनबेच भएको छ ।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये चार कम्पनीबाहेक सबैको सेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १८.७७, अन्य समूह ४.१७, सामुहिक लगानी कोष ०.०१ र लगानी समूहअन्तर्गत ०.१२ अंकले सेयरको मूल्य बढेको हो भने बाकी सबै उपसमूह अन्तर्गतको सेयर घटेको हो ।

बैकिङ २.३५, व्यापार १९.३४, विकास बैंक २१.९२, जलविद्युत १७.०१, वित्त १६.२८, निर्जीवन बिमा ६०.२७, उत्पादनमुलक २१.२९, लघुवित्त २५.१७ र जीवन बिमाअन्तर्गको सेयर ३४.४३ अंकले घटेको छ ।