सपोर्ट, सूर्योदय र वोमी लघुवित्तको सेयरमूल्य समायोजन

-



     सफल आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ पुस । आज पुस महिनाको पहिलो दिन बिहिबार तीनवटा लघुवित्तको सेयरमूल्य नेपाल स्टक एक्सचेन्जमा समायोजन भएको छ । यसरी सेयरमूल्य समायोजन भएका लघुवित्तहरुमा सपोर्ट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था तथा वोमी लघुवित्त रहेका छन् ।

तीनवटै लघुवित्तले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले उनीहरुको नयाँ मूल्य कायम गरेको हो ।

यी तीनवटै संस्थाको सेयरमूल्य समायोजनपछि सपोर्ट लघुवित्तको शेयरमूल्य १,७६९ रुपैयाँ २३ पैसा, सूर्योदय लघुवित्तको १,४२७ रुपैयाँ ५० पैसा तथा वोमी लघुवित्त वित्तीय संस्थाको १,३४० रुपैयाँ ८३ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

नेप्सेले यी लघुवित्तको सेयरमूल्य अघिल्लो कारोबार भएको मूल्यको आधारमा समायोजन गरेको हो । बुधबार सपोर्ट लघुवित्तको शेयर प्रतिकित्ता २,३०० रुपैयाँ, सूर्योदयको १,७१३ रुपैयाँ तथा वोमीको १,६०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजन भएको मूल्यसंगै आज दोश्रो बजारमा शेयर कारोबार हुँदैछ ।


सपोर्ट लघुवित्त

यसैबीच, सपोर्ट लघुवित्त वित्तीय संस्थाले पुसको १० गते इटहरीमा ७औं साधारण सभा बोलाएको छ । संस्थाले बगान फेमली रेष्टूरेन्टमा बाृलाएको साधारण सभाबाट ३१.५७ प्रतिशत लाभांश विरणको प्रस्तापलाई पारित गरिने भएको छ । साधारण सभा बिहान ९ बजे आव्हान गरिएको छ ।

वोमी लघुवित्त

वोमी लघुवित्तको १०औं साधारण सभा पुस १६ गते बोलाईएको छ । सभा काभ्रे, धुलिखेलस्थित होटल अरनिकोमा पूर्वान्ह ११ वजे बोलाईएको छ । सभाले २० प्रतिशत लाभांश वितरणको प्रस्ताव तथा सूर्योदय लघुवित्तसंग १÷१ को अनुपातमा मर्जरको लागि विशेष प्रस्ताव पारित गर्नेछ । मर्जरपछि लघसवित्तको नाम सूर्योदय वोमी लघुवित्त हुनेछ ।


सूर्योदय लघुवित्त

सूर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण तथा वोमीसंगको मर्जरको प्रस्ताव पारित गर्न पुसको १६ गते स्याङ्जा गुडिखोलास्थित सहयात्री पार्टी प्यालेसमा ९औं साधारण सभा आव्हान गरेको छ । पूर्वान्ह ११ बजे शुरु हुने सभामा २० प्रतिशत लाभांश वितरणको प्रस्ताव तथा वोमी लघुवित्तसंग मर्जरको लागि विशेष प्रस्तावलाई पारित गर्नेछ ।