लायन्समा एक दशक

-



     किशोर बराल    
     भाद्र २४ गते २०७७ मा प्रकाशित



समाजसेवा,सामाजिक काम र समुदायको लागि कुनै पनि काम गर्ने भनेपछि म निकै उत्साहित हुने गर्छु । यही बानीले गर्दा सानै उमेरदेखि अहिलेसम्म बिभिन्न सामाजिक काममा समर्पित भइरहेको छु । १५ बर्षको उमेर, जुन अभिभावकको भरमा बाल्यकाल, विद्यार्थी जीवनयापन गरिरहेको अवस्था हुन्छ । त्यही उमेरमा आत्मैबाट उत्प्रेरित भएर खाजा खर्च बापत अभिभावकबाट पाएको रकम संकलन गरी समुदायमा केही काम गर्न इच्छा जागेकाे थियाे ।

फलस्वरुप, स्थानीय क्लवको रुपमा २०५१ सालमा सहपाठी विश्वराज बरालको अध्यक्षतामा समाजसेवा युवा क्लवको स्थापना गरियो । जसले समुदाय र युवा साथीहरुको लागि प्रभावकारी रुपमा काम गर्न सफल भयो । समुदायमा काम गर्ने क्रममा आफैंलाई पनि भित्रैदेखि सकारात्मक परिवर्तन भएको महशुस गरायो । काम गर्दै जाँदा समुदायको आफूप्रतिको धारणामा पनि परिवर्तन आएको महसुस भयो । समुदायमा काम गर्दा प्राप्त हुने सुखद क्षणहरुको राम्रो अनुभूति भईरहेको थियो । समाजमा देखापर्ने साना ठूला सबै खाले समस्याहरुसंग परिचित हुने र तिनको समाधानको लागि यूवा नेतृत्वको हिसाबले भूमिका निर्वाह गर्ने राम्रो अवसर प्राप्त भइरहयो ।

लामो समयसम्म स्थानिय एउटा क्लवको नेतृत्व सम्हाल्ने क्रममा अन्तर्राष्ट्रिय संस्था लायन्स क्लवको बारेमा सुनेको र त्यसप्रतिको आर्कषर्ण पैदा भएको थियो । त्यहि कारणले स्थानिय रुपमा मात्र नभई अलि टाढा–टाढासम्म सामाजिक कामहरु गर्ने र छाप छोड्नु पर्छ भन्ने कुराले मलाई घच्घच्याउन थालिसकेको थियो ।

लायन्सकाे मेरो आर्कषण र चाहनालाई परिपूर्ति गर्ने काम मेरा सहपाठी अनन्य मित्र प्रमोदप्रसाद पौडेलले गर्नुभयो । जसको निमन्त्रणमा पोखरा क्षेत्रमा तत्कालिन अवस्थामा नयाँ क्लवको रुपमा दिनबन्धु पौडेलज्युको अध्यक्षतामा स्थापना हुन लागेको क्लव लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीको संस्थापक सदस्यको रुपमा मेराे लायन्सको यात्रा प्रारम्भ भयो ।

वि.सं २०६६ साल भदौ २४ गते आजैको दिन लायन्स अन्तर्राष्ट्रियको विधिवत सदस्य भई सामाजिक कार्यहरुलाई आफ्नो समुदायदेखि टाढा–टाढासम्म, जहाँ आवश्यकताको पहाडले थिचिएका जनसमुदायहरुको बसोबास छ, जो समस्यै समस्याले जकडिएका छन्, स्वास्थ्यको र शिक्षाको पहुँच पुगिसकेको छैन, हो त्यस्ता व्यक्ति र समुदायको लागि काम गर्ने अवसर जुटेको थियो ।


हुन त सामाजिक काम गर्नको लागि कुनैपनि संस्थामा आवद्ध हुनैपर्छ भन्ने छैन । तरपनि विभिन्न परिवेशका साथीहरु, विभिन्न पेशा व्यवसाय र ओहोदामा रहेका साथीहरुसंग मिलेर एउटा परिवारको रुपमा क्लवमा रहेर काम गर्नुको आनन्द नै बेग्लै किसिमको हुने रहेछ । जब कोही समस्यामा हुन्छ, उसलाई त्यो समस्याबाट पार लगाएपछि उसको आँखामा देखिने आनन्दको भावले मनमा प्राप्त हुने सन्तुष्टिको मापन गर्ने कुनै श्रोत र साधन नभेटिने रहेछ ।

जसरी हाम्रो सामूहिक प्रयासबाट परिवारमा रहेका साना बाबुनानीहरुलाई पढ्ने वातावरण तयार हुन्छ, त्यो बेला प्राप्त हुने आनन्द विलासिताका बस्तुहरुले प्रदान गर्ने आनन्दको तुलनामा कैयन गूणा ठूलो हुन्छ । आफ्नो क्षेत्र देखि निकै टाढा–टाढासम्म सामाजिक कार्यका लागि हुने यात्राको माध्यमबाट साथीहरुबीच हुने निकटता पनि लायन्सको एउटा महत्वपूर्ण उपलब्धी भएको महसुस हुन्छ ।

लायन्स भनेको विविधताले भरिएको संस्था हो । यसले एउटा मात्र बिषय समेटेर काम गर्दैन । जहाँ आवश्यकता छ, समस्या पर्छ, त्यहाँ लायन्सले काम गर्दछ । त्यसैले भनिन्छ नि “जहा“ आवश्यकता, त्यहा“ लायन्स” अनवरत रुपमा लायन्समा लागेर समुदायमा स्थायी छाप छोड्न सफल भएका साथीहरु, अँझ भनौ जुनसुकै परिस्थितिका बाबजुद पनि आफुलाई सामाजिक कार्यमा समाहित गर्ने सुन्दर मन र सकारात्मक सोच भएका व्यक्तिहरुसंगको निकटता र आफु जस्तै लायन्स साथीहरुले गरेका कामबाट समग्र लायन्सको नै प्रशंसा भएको खबर सुन्दा छाती गर्वले फुल्ने गर्दछ ।

लायन्समा लागेपछि नै थाहा भयो कि यसको १०३ बर्षको इतिहास त्यसै कायम भएको रहेनछ । त्यसै १४ लाख लायन्स सदस्य भएका रहेनछन् । लायन्स भन्ने वित्तिकै सामाजिक काम गर्ने अन्तर्राष्ट्रिय संस्थाको रुपमा चिनिन्छ । तर त्यो मात्र नभएर नेतृत्व विकासका साथै फेलोसिपको लागि पनि महत्वपूर्ण प्लेटफर्मको रुपमा लायन्स रहेको मैले बुझेको छु । सामाजिक काम गर्ने मात्र नभएर नेतृत्व विकास र फेलोसिपका लागि लायन्समा लाग्ने व्यक्तिहरुको जमात पनि ठूलै छ । लायन्स क्लवमा लागेर काम गर्दा प्राप्त हुने आनन्द, नेतृत्व विकास र फेलोसिपका कारणले आफुमा भएको सकारात्मक परिवर्तन र अरुले आफ्ना बारेमा कुरा गर्दा अहिले निकै आनन्दको अनुभूती हुन्छ ।

संगठन जति ठूलो हुन्छ, त्यसका बारेमा सकारात्मक कुराहरुका साथमा नकारात्मक कुराहरु पनि आउने गर्छन । त्यो स्वभाविक पनि हो । यति धेरै सदस्य भएको र लामो इतिहास बोकेको अन्तर्राष्ट्रिय संस्था विरलै पाइन्छ । लायन्स एउटा अनुशासित पद्धतिबाट चलेको संस्था हो । बेलाबखत मिडियामा आउने नकारात्मक समाचारहरुले हामी समुदायमा काम गर्ने, स्वतःस्फूर्त रुपमा पब्लिक भोलिन्टियरको रुपमा काम गर्नेहरुको लागि सामान्य कुरा भएता पनि नमिठो लाग्दो रहेछ । हामी लायन्समा लागेर एक दशक भन्दा बढीको समय व्यतित गरिसक्दा धेरै अनुभवहरु हाँसिल गरिसकेका छौ । हामीलाई राम्रो लागेर नै परिवारका सदस्य र नजिकका साथीभाईहरुलाई यो संस्थामा आमन्त्रण गरिरहेका पनि छौं।

लायन्सहरुले आपसी समन्वयमा क्लवका साथीहरु मिलेर नै आवश्यकताको जोहो गरेर आवश्यक परेको ठाँउमा सेवाका कार्यहरु गरिरहेका हुन्छन । त्यो केवल आत्मसम्मान र आत्मसन्तुष्टिको लागि मात्र हो । यसका अलावा यो अन्तर्राष्ट्रिय संस्थामा लागिसकेपछि यसको नेतृत्व गर्ने ईच्छा जागृत हुनु र त्यसका लागि हुने रसाकसीलाई हामीले प्रजातान्त्रिक पद्धतिको एउटा नमूनाको रुपमा नै लिनुपर्छ । समग्रमा लायन्स हुनुमा गर्वको महसुस गरेको छु । यसमा लागेर गरिने समाजसेवा, त्यसबाट प्राप्त हुने आत्मसन्तुष्टि र आत्मसम्मानले लायन्समा लागेर अरु काम गर्नका लागि मनलाई थप अभिप्रेरित गरिरहन्छ ।

लेखक: लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीका लायन बर्ष २०१३ ।१४ का अध्यक्ष तथा हाल डिष्ट्रिक्ट ३२५ वि १ नेपालका डिष्ट्रिक्ट जिएलटी कोअर्डिनेटर हुन ।