सकारात्मक बिन्दुमा सेयर बजार, कारोबार रकममा भने गिरावट कायमै

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ पुस । मंगलबार सेयर बजार साढे दुई प्रतिशतले बढेर बन्द भएको छ । निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार भने हरियाली देखिएको छ ।

अर्थमन्त्रालयले स्थानीय स्तरमा जाने बजेटको ८० प्रतिशत बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गर्न पत्र काटेसँगै सेयर बजार सकारात्मक बिन्दुमा प्रवेश गरेको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ५६.७३ अंकले बढेर दुई हजार ४१५.५५ अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.३४ अंकले बढेको छ ।

आज सेयर बजार उकालो लागे पनि कारोबार रकम भने बढेको छैन । रताम्य देखिएको सोमबारको भन्दा पनि आज कारोबार रकम घटेको छ । आज मंगलबार तीन अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँ बराबरको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज कारोबार भएकामध्ये तीन कम्पनीको सेयर कारोबार सर्किट लेभलमा पुगेका छन् । ग्रीन डेभलपमेन्ट बैंकको सेयर भने १० प्रतिशतले बढेको छ । त्यस्तै जानकी फाइनान्सको ९.८१, रसुवागढी हाइड्रोपावरको ९.२१ र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ८.२६ प्रतिशतले बढेको छ ।