बुधबार सेयर बजारमा हरियाली, चार कम्पनीको कारोबारमा सकारात्मक सर्किट

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ पुस । लामो समयदेखि ओरालो लागेको सेयर बजार बुधबार भने निकै उकालो चढेको छ । मंगलबार पनि नेप्से उकालो लागेको भए पनि कारोबार रकम भने घटेको थियो । आज भने कारोबार रकमसहित समग्र बजार धनात्मकतर्फ लम्किएको छ ।

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.१६ अंकले बढेर दुई हजार ५०७.७० अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा प्रवेश गरेको छ ।

आज २३३ कम्पनीका ८१ लाख चार हजार ३१९ कित्ता सेयर चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहहरु सबै उकालो लागेका छन् । आज सबैभन्दा व्यापार, जलविद्युत र उत्पादनमुलक समू्हको सेयर मूल्य बढेको छ ।

व्यापार समूहको ८.२३ प्रतिशतले सेयर बढेको छ भने उत्पादनमुलकको ७.६६ प्रतिशत र जलविद्युत समूहको सेयर ६.०३ प्रतिशतले सेयर बढेको नेप्सेले जनाएको छ । आज चार कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । अरुण भ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनी, शिभम् सिमेन्ट, अपर तामाकोशी हाइड्रोपावर र बरुण हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था, सगरमाथा इन्स्योरेन्स, आरएसडीसी लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार सर्किटको लेभलमा भएको छ ।