
काठमाडौं, ११ पुस । नेपालमा बहुमूल्य गरगहनाहरुको किनबेचमै झमेला हुने गरेको व्यवसायीले बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीले बहुमूल्य गरगहनाहरुको किनबेच गर्न कानुनी रुपमा नै झन्झटिलो हुने गरेको बताएका हुन् ।
काठमाडौं सुनचाँदी व्यवसायी संघद्वारा आयोजित आयकर शिक्षा अन्तरक्रिया कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक मणिरत्न शाक्यले व्यापारीहरु करको दायरामा आउन चाहे पनि अडिटमै खरिद बिक्रीमा झमेला हुने गरेको बताए । उनले भने, ‘व्यापारीहरु करको दायरामा आएका छन् । तर, त्यसमा नगद र चेक भुक्तानीबाट हुने कारोबारले गर्दा व्यालेन्स शीतमा थपघट हुने गरेको छ । यसले गर्दा व्यवसायी संघका सदस्य तथा कालीगढहरुलाई पनि अनेक झमेला हुने गरेको छ ।’
संस्थापक शाक्यले व्यवसायको प्रकृति आन्तरिक राजस्व विभाग सहज रुपमा नलिँदा सुनचाँदीका गहना बनाउन नोक्सानी जर्तिमा पनि अनुचित कर लगाउँदा व्यवसायीहरु त्रसित भएको बताए । उनको कुरालाई जोड्दै महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘सुनचाँदी कारोबारको सीमा अन्य व्यवसाय जस्तै ५० हजार रुपैयाँमात्र तोकिनु अव्यवहारिक हो ।’ यसको समाधानका लागि संघले बाटो खोज्नुपर्ने भएको छ ।
अध्यक्ष शाक्यले भने, ‘तोलाको ९२ हजारभन्दा माथि पर्ने सुनको कारोबारमा ५० हजार रुपैयाँभन्दा माथिको कारोवार चेकबाट गर्नुपर्ने प्राब्धानले व्यवसायी र ग्राहक दुवैलाई असुविधा भइरहेको छ ।’ उनका अनुसार कारोबारको सीमा पाँच लाख रुपैयाँ कायम गरे सहज हुन्छ । उनले अन्य व्यवसायमा जस्तै घरमा रहेको सुन कम मूल्य हुँदा खरिद गरी बढी मूल्य भएपछि बिक्री गर्नेहरुसँग पनि लाभकरको व्यवस्था हुनुपर्ने बताए । व्यवसायीहरुले सुनचाँदी सम्पत्तिको रुपमा मात्रै नहेरेर उत्पादन, उपभोग, लगानी, खरिद बिक्री आदिका रुपमा रही नेपालको अर्थतन्त्रमा योगदान दिँदै आइरहेको स्मरण गरे ।
अर्थतन्त्रमा योगदान दिँदै राजस्वसम्बन्धी अव्यवहारिक प्राब्धानका कारण आफूहरुले अनेक झमेलाका कारण व्यवसाय नै खतरामा परेको व्यवसायी निरञ्जनरत्न शाक्यले बताए । उनले भने, ‘व्यवसायीलाई राज्यले सुरक्षा दिने, नियमन गर्ने निकायको अभाव महसुस, सुनचाँदी व्यवसायीलाई खरिद बिक्रीका साथै अडिट कार्यमा पनि समुच्चित आधारको व्यवस्था नहुनु नै व्यवसायीप्रति राज्य जिम्मेवार नभएको बुझिन्छ ।’
काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यका अनुसार आफूहरुले समस्या धेरै देखाए पनि नियमन तथा सुरक्षा निकायसँग समन्वय गरेर समस्याका समाधान खोज्नुपर्ने बताए । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने करसम्बन्धी सम्पति शुद्धीकरण अन्तर्राष्ट्रिय अनुबन्धका कारण कतिपय ऐन नियमहरूलाई व्यवहारमा उतार्न नसकेको बताए । ‘केही कठीनाई भएको अवश्य छ,’ उनले भने, ‘व्यवसायीहरूको करसम्बन्धी समस्याहरू समाधानका लागि विभाग सहजीकरण गर्न तयार छ ।’
के छ नयाँ कर व्यवस्थामा ?
चालू आर्थिक वर्षको नयाँ व्यवस्थाअनुसार साना करदाताका लागि ३० लाखसम्मको कारोबारमा महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा प्राकृतिक व्यक्तिको लागि कर सात हजार पाँच सय तोकेको छ । त्यस्तै नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने व्यक्तिले चार हजार र अन्य क्षेत्रमा व्यवसाय गर्नेले दुई हजार पाँच सय रुपैयाँ कर तिर्नुपर्ने उल्लेख छ ।
त्यस्तै तीस लाखदेखि ५० लाखसम्म कारोबार गर्ने व्यवसायीले वार्षिक ४७ हजार रुपैयाँसम्म कर तिर्नुपर्ने उल्लेख छ । ग्यास चुरोटलगायत तीन प्रतिशतसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई तीसदेखि ५० लाखसम्म कारोबार रकमको ०.२५ प्रतिशत अर्थात् फरक रकम २० लाखको ०.२५ प्रतिशतको पाँच हजार र महानगर क्षेत्रको साढे सात हजार गरी १२ हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ ।
कारोबार रकमको एक प्रतिशत अर्थात् फरक रकम २० लाखको एक प्रतिशतले २० हजार र महानगरभित्रको साढे सात हजार गरी २७ हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै कारोबार रकमको दुई प्रतिशत अर्थात् २० लाखको दुई प्रतिशतले ४० हजार र सात हजार पाँच सय गरी ४७ हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै ५० लाखदेखि एक करोडसम्मको कारोबारमा ग्यास चुरोटलगायत तीन प्रतिशतसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई कारोबार रकमको ०.३० प्रतिशत अर्थात् फरक रकम ५० लाखको ०.३० प्रतिशतको १५ हजार र १२ हजार पाँच सय गरी २७ हजार पाँच सय बुझाउनुपर्ने उल्लेख छ । त्यस्तै एक करोडको ०.८ प्रतिशत अर्थात् ५० लाखको ०.८ प्रतिशतको ४० हजार र २७ हजार पाँच सय गरी ६७ हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने छ । त्यस्तै एक करोडसम्मको फरक रकम दुई प्रतिशत भए एक लाख ४७ हजार पाँच सय रुपैयाँ बुझाउनुपर्छ ।
एक करोडभन्दा माथि जतिसुकै रकमको कारोबार सबै प्रकारका व्यवसाय गर्ने प्राकृतिक व्यक्तिलाई १० लाखदेखि माथि जतिसुकै कारोबारमा लेखा परीक्षण गराई आफ्नो कारोबार विवरण पेश गर्नुपर्ने र प्रालि कम्पनीको हकमा जतिसुकै कारोबार गरे पनि लेखा परीक्षण अनिवार्य गर्नुपर्ने नयाँ कर व्यवस्थामा उल्लेख छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




