कोरोना बढेपछि अमेरिकामा एक दिनमै दुई हजार उडान रद्द

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब दुई हजार उडानहरू रद्द गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकी अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ ।

द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्द गरेको जनाएको छ । अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ ।

आइतबार र क्रिसमसको पूर्वसन्ध्यालगायत विगत १० दिनहरूमा, एयरलाइन्सहरुले अमेरिकामा १४ हजार भन्दा बढी उडानहरू रद्द गरेका छन् फ्लाइटअवेयर तथ्यांकले देखाएको छ ।