
काठमाडौं, २४ पुस । उखु नगदेबाली हो, नगदेबाली भनेको आम्दानी गर्ने अभिप्रायले लगाइने बालीहरू हुन् । तर, उखु बाली लगाउनभन्दा किसानहरुलाई बिक्री भएको उखुको रकम भुक्तानी पाउन अप्ठेरो पर्छ । उधारोमा उखु बिक्री गर्नुपर्ने किसानहरुको बाध्यता छ । यसरी उधारोमा बिक्री भएको गुलियो उखुभित्र ‘तीतो’ कहानी छ । आफ्नो मेहनतले फलाएको फल बिक्री वापतको रकम पाउन पनि किसानहरु सडकसम्म आउनुपर्ने बाध्यता छ ।
ऋण गरेर लगाएको खेतीको प्रतिफलका लागि किसानहरुले वर्षेनी मिल मालिक खोज्दै भौतारी रहनुपर्छ । वर्षभरी उत्पादन गरेर बेचेको उखुको मूल्य नपाउँदा सरकारलाई भुक्तानी गराइदिन माग गर्दै यसपटक पनि कृषक आन्दोलनको संघारमा पुगेका छन् । पटक–पटक गुलियो उखुको तीतो कथा सम्बन्धित निकायलाई सुनाउनु कृषकका नौलो कुरा होइन । सुन्ने निकायहरुका लागि पनि कृषकको बेदना पुरानै हो । ऋणमा चुर्लुम्मै डुबेका किसानहरुले उत्पादनको मूल्य नपाउँदा ‘आत्मदाह’ गर्नेसम्मका पीडा पोख्ने गरेका छन् ।
गत वर्षमात्रै उखुको बक्यौता भुक्तानी गराइदिन माग गर्दै काठमाडौं आएका सर्लाही रामनगरका नारायणभगत यादवले न्याय नपाएरै ज्यान गुमाउनुपर्यो । किसानको यो पीडाको उत्कर्ष अवस्थामा पनि सरकार रमिते बनिरह्यो । किसानलाई न्याय दिन सकेन । अहिले पनि कृषकको समस्या जस्ताको त्यस्तै छ ।
अत्यावश्यक वस्तु पनि आयातमै निर्भर हुनुपर्ने अवस्था छ । यस्तो अवस्था हटाउन सरकारले कृषिमा व्यवसायीकरण भन्दै कृषकलाई उत्पादन बढाउन प्रोत्साहन स्वरुप दिने अनुदानसमेत वर्षौंसम्म नपाएको कृषकहरुको गुनासो छ । देशको अर्थतन्त्रलाई नै समृद्धिको बाटोतिर लैजान परिश्रमी बनेका किसान राज्यबाट नै ‘न्यायको बन्दी’ बनिरहेका छन् ।
।
उद्योगीलाई सजह हुनेगरी मूल्य निर्धारण
चालू आर्थिक वर्षका लागि उखुको मूल्य निर्धारण गर्न उद्योगी र कृषकले फरक मूल्यको अडान राखे । उखु किसानले उखुको मूल्य प्रतिक्विन्टल ७ सय रुपैयाँ हुनुपर्ने माग गरे भने उद्योगीले ५८० रुपैयाँ प्रतिक्विन्टल मूल्य तोकिनुपर्ने अडान राखे । सहमति गराउनकै लागि कृषि तथा पशुपन्छी मन्त्रालयले उद्योगी र किसानलाई मन्त्रालयमै बोलाएर छलफलसमेत गर्यो । तर, मूल्य नमिल्दा सहमति जुट्न सकेन । अन्तिममा डेढ महिनापछि मूल्य निर्धारण गरेको सरकारले बुधबार भने उद्योगीकै पक्षमा हुने गरी निर्णय गर्यो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रति क्विन्टल ५९० रुपैयाँ कायम गरिदियो । उद्योगीले अडान लिएको मूल्यमा १० रुपैयाँमात्रै बढाउँदै सरकारले निर्णय सुनाएपछि भने किसानले थप पीडा महसुस गरेका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष राकेश मिश्रका अनुसार सरकारले कात्तिक अन्तिम सातासम्म मूल्य निर्धारण गरिसक्नु पर्नेमा ढिला गरेरमात्रै निर्धारण गरियोे । ‘उद्योगीसँग मिल्नुपर्ने रहेछ र पो सरकारले ढिलो गरी उद्योगीकै पक्षमा निर्णय गर्यो,’ उनले भने, ‘उखुको सिजन नै मंसिरदेखि फागुनसम्म हो । यो अवधीमा बेचिएन भने बारीमा उखु सुकेर जान्छ । अहिले नसुकोस् भनेर कृषकले मूल्य कायम नहुँदै उधारोमा उखु काटेर बेचिरहेको छन् ।’ सरकारको ढिलो निर्णयले किसानमाथि फेरि झेली गरेको उनले सुनाए ।
अध्यक्ष मिश्रका अनुसार सरकारले तोकेको मूल्यले किसानलाई लागत खर्च जोगाउन नै गाह्रो पर्छ । उखु किसानले गरेको मेहनत, ढुवानी भाडालगायतका खर्चसमेत संवोधन नभएको उनले बताए । २०७५ सालमै उखुको उत्पादन लागत ३९५ रुपैयाँ प्रतिक्विन्टल थियो । पछिल्लो वर्ष ४२० रुपैयाँ कायम भयो । गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ४९७।२ रुपैयाँ तोकेको थियो । यसमा सरकारले प्रतिक्विन्टल ६५।२८ रुपैयाँ अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल ५६२ रुपैयाँ थियो ।
…त्यसपछि सुरुभयो समस्या
वीरगञ्ज चिनी कारखाना सञ्चालन हुनसम्म किसानले धेरै पीडा खेप्नु परेको थिएन । तत्कालिन समयमा सरकार आफैंले एकतर्फी उखुको मूल्य निर्धारण गथ्र्यो । सञ्चालनमा रहेका निजी मिलले त्यसलाई ग्रहण गर्थे र किसानले समयमै भुक्तानी पाइरहेका थिए ।
२०५९ फागुन १६ गते शेरबहादुर देउवा नै प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषद्ले वीरगञ्ज चिनी कारखाना खारेज गर्यो । त्यसपछि निजी उद्योग सञ्चालकले किसानलाई पिरोल्दै आए । उखुको मूल्य एकतर्फी मात्रै निर्धारण हुन थाल्यो । उद्योगीले आफूखुसी उखुको मूल्य दिन थाले । किसानले उचित मूल्य पाउने छाडे ।
उखु किसान र उद्योगीबीच मूल्यमा एकरुपता कायम नभएपछि सरकारले दुवै पक्षसँग सहमति लिएर वर्षेनी नयाँ मूल्य कायम गर्ने गरेको छ । सम्झौतापछि प्रत्येक वर्ष कात्तिक मसान्तसम्म सरकारले नयाँ दररेट कायम गर्नुपर्नेमा यसपाली डेढ महिना ढिला गरेको छ । यसले गर्दा कृषकले दररेट कायम नहुँदै उधारोमा समेत उखु बेच्नुपर्यो ।
तथ्यांकअनुसार नेपालमा अहिले दुई लाख ४० हजार टन चिनी आवश्यक पर्छ । तर, एक लाख ७५ हजार टनमात्र उत्पादन हुन्छ । अझै ६५ हजार टन अभाव भइरहेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षका लागि सरकारले तोकेको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ छ । त्यसमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानबाफत सरकारले दिने भनेको छ । सरकारको कार्यविधिअनुसार गत वर्ष पनि ५३५ रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो । तर, मिल सञ्चालकले विभिन्न बहाना गर्दै ३५ रुपैयाँ घटाएर प्रतिक्विन्टल ५०० रुपैयाँमात्रै दिने गरेका थिए ।
भुक्तानी पाउन सकस
उखुको मूल्य भुक्तानी गराउनका लागि किसान संघर्ष समितिसँग सरकारले गत मंसिर १३ गते वार्ता गरेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र किसानबीच भएको वार्तामा मंसिर २१ गतेभित्र भुक्तानी हुने सम्झौता थियो । सम्झौताअनुसार किसानले पाउनुपर्ने ९० करोडमध्ये ६५ करोडको मात्र कबुल गराएको थियो । तर, तर भुक्तानी हुन अझै पनि बाँकी छ ।
किसानले पटक पटक ताकेता गर्दासमेत सरकार मौन बसेको संघर्ष समितिका अध्यक्ष मिश्रले सुनाए । उनका अनुसार गत मंसिर १३ को सहमतिअनुसार ९० करोडबाट ६५ करोड ताकेता गर्यो । त्योबाट पनि १३ करोड रुपैयाँ अझैं बाँकी छ । बाँकी २५ करोडको सरकारले चासो नै दिएन । एकतर्फी प्रतिवेदन बनायो । त्यसमा किसानहरुले हस्ताक्षर नगरेको उनले बताए ।
अध्यक्ष मिश्रमा अनुसार ६५ करोडमध्ये उद्योगीले ५२ करोडमात्रै भुक्तानी पाएका छन् । अहिलेसम्म सर्लाहीमा मात्रै महालक्ष्मी सुगर मिलले आठ करोड, अन्नपूर्ण मिलले पाँच करोड, श्रीरामले तीन करोड, इन्दिरा सुगर मिलले एक करोड ५० लाख र लुम्बिनी सुगर मिलले एक करोड ५० लाख रुपैयाँ भुक्तानी दिन बाँकी नै रहेको उनले बताए ।
सरकारको ताकेता
सरकारले उखु किसानको पैसा नतिर्ने पाँच चिनी मिलको जग्गा र बैंक खाता रोक्न पत्राचार गरेको जनाएको छ । गएको मंगलबार प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले कृषकको रकम भुक्तानी नगर्ने उद्योगीको जग्गा तथा बैंक खाता रोक्न पत्राचार गरेको बताए ।
सचिव भट्टराईका अनुसार मन्त्रालयले हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलको बैंक खाता र जग्गा रोक्का गर्नका लागि भूमि व्यवस्था, गृह र अर्थ मन्त्रालयमा पत्र पठाएको छ । उनले भने, ‘उखु किसानको पाँच वटा मिलले ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसको भुक्तानीका लागि मन्त्रालयले पत्राचार गरिसकेको छ ।’
सरकारविरुद्ध आदालतमा जाने
उखु किसान भने अब पनि सरकारले आफ्नो माग पूरा नगरे सरकारविरुद्धै अदालत जाने तयारी गरिरहेका छन् । सफल आवाजसँगको कुराकानीमा संघर्ष समितिका अध्यक्ष मिश्रले भने, ‘अब पुरानो भुक्तानी तथा नयाँ कायम गरेको दररेट नसच्याएमा सरकारको विरुद्धमा अदालत जाने तयारीमा छौं,’ उनले भने, ‘सरकार उद्योगीहरुलाई जोगाउने अनि किसानले मर्नुपर्ने ?, यस्तो कसैलाई स्वीकार्य हुँदैन ।’
उनले न्यायका लागि सरकारविरुद्ध अदालत जानका लागि कानुन व्यवसायीसँग छलफल भइरहेको बताए । ‘सरकारबाट हामीमाथि पटक–पटक धोका भयो,’ उनले भने, ‘किसानहरुले २०७० सालबाटकै भुक्तानी पाउन सकेका छैनन् । हामीले हाम्रो पैसा दिलाइदिनुस् भन्दा पनि सरकार कानमा तेल हालेर बसेको छ ।’










काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




