
काठमाडौं, २५ पुस । नेपाललाई कृषिप्रधान मुलुकको नामले चिनाइन्छ । हिमाल, पहाडमा नभए पनि तराईमा प्रर्याप्त मात्रामा अन्न फल्ने हुँदा तराईलाई ‘अन्नको भण्डार’ भनेरै परिभाषित गरिएको छ । कुनै बेलामा उत्पादित खाद्यान्न अन्य मुलुकमा निर्यात गर्दै आएको नेपाल पछिल्लो चार दशकयता भने विदेशीबाट खाद्यान्न किन्दै आएको छ ।
पछिल्लो तथ्यांक हेर्ने हो भने पनि नेपालले मासिक रुपमा अर्बौं रुपैयाँको अनाज आयात गर्ने गरेको छ । भन्सार विभागका अनुसार चालू आवको पहिलो पाँच महिनामा मात्रै करिब ३४ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । तथ्यांकअनुसार चालू आवको पाँच महिनामा नेपालले ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार रुपैयाँको आयात गरेको छ । आयातको तुलनामा निर्यातको ग्राफ भने तुलना गर्नैै नमिल्ने स्थानमा छ, अर्थात् आयातको तुलनामा निर्यात एक लाखभन्दा बढी गुणाले कम छ ।
भन्सार विभागका प्रवक्ता पुण्डविक्रम खड्काका अनुसार नेपालले तीन लाख ३३ हजार रुपैयाँको मात्रै अनाज बेचेको छ । अनाजमा मात्रै नेपालको व्यापार घाटा ३३ अर्ब ९४ करोड २४ लाख २५ हजार रुपैयाँ भएको विभागको तथ्यांकले देखाएको छ । अनाज आयात निर्यातबाट सरकारले दुई अर्ब ३२ करोड ४४ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
४९ अर्बको डिजेल आयात
डिजेल आयातमा पनि नेपालले गत वर्षको भन्दा झण्डै दोब्बर रकम खर्च गरेर डिजेल आयात गरेको छ । तथ्यांकअनुसार गत वर्षको तुलनामा डिजेलको आयात परिमाण १४।५ प्रतिशतले वृद्धि गरेको छ । चालू आवको पाँच महिनामा ६ लाख ४५ हजार ३१३ किलोलिटर डिजेल आयात गर्न ४९ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । गत वर्षको सोही अवधिमा ५ लाख ६४ हजार ६८५ किलोलिटर डिजेल २३ अर्ब ४३ करोड रुपैयाँमा आयात गरेको थियो ।
७३५ अर्बको व्यापार घाटा
९७ प्रकारका वस्तुहरुको अन्तर्राष्ट्रिय कारोबार गरिरहेको नेपालले पाँच महिनाको अवधीमा सात खर्ब ३५ अर्बभन्दा बढी रुपैयाँको व्यापार घाटा गरेको छ । विभागका अनुसार पाँच महिनाको अवधीमा आठ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँको विभिन्न वस्तुहरु आयात हुँदा एक खर्ब दुई अर्ब ९२ करोड पाँच लाख ७२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
विगतका वर्षहरुको तुलनामा भने निर्यात बढेको हो । आयात र निर्यातमा भएको वैदेशिक व्यापारमा सरकारले यस अवधीमा दुई खर्ब १७ अर्ब ३३ करोड आठ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । विभिन्न मुलुकबाट ९१ प्रकारका वस्तुहरु आयात हुँदा नेपालबाट भने ७३ प्रकारका वस्तुहरु निर्यात हुने गरेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




