
जाजरकोट, २७ पुस । भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन् ।
नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह बिक्रीबाट रु पाँच लाख बढी आम्दानी गर्नुभएको थियो । तर यसपालि मह उत्पादन नभएपछि उनी निराश भएका हुन् । त्यस्तै गत वर्ष ३०० केजीभन्दा बढी मह उत्पादन गर्ने सोही ठाउँका हरिबहादुर पुनको ६० घार मौरीले २० केजी मह पनि लगाएन । पुनले व्यावसायिकरूपमा मौरीपालन व्यवसाय गर्दै आएका छन् । आम्दानी घटेपछि उनी निराश छन् । बुढा र पुन केही प्रतिनिधि उदाहरण मात्र हुन् ।
जिल्लाभर एक हजार १०० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिकरूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन् । गत असोज–कात्तिक महिनामा धेरै पानी परेपछि चिउरी फूलको रस र अन्य फूलको रस बगाउँदा मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । मौरीलाई चरन क्षेत्रको अभाव, वनविनास, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको हो ।
बेमौसमी वर्षात्ले मौरी क्षेत्रका चिउरी र अन्य सिजनल फूलहरूमा पानी जम्मा भएर रस बगाएर लैजानु, विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्याले मह उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए । उनले भने, “मौरीपालन क्षेत्रमा विषादी प्रयोग बढ्दै जानु, मौरी गोलालाई अरिङ्गाललगायत शिकारी जीवबाट आक्रमण हुनु, जलवायु परिवर्तनका कारण समयमा फूल नफुल्नाले मह उत्पादन घटेको हो ।”
गत वर्ष प्रतिकेजी रु ६०० पर्ने मह यस वर्ष रु एक हजार प्रतिकेजी हाल्दा पनि नपाउने अवस्था छ । उत्पादन घट्दा मूल्यवृद्धि भएको छ । नलगाड नगरपालिकाद्वारा मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान पनि यस वर्ष निराश छन् । सरकारले विगत केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोनमार्फत किसानलाई अनुदान तथा प्राविधिक सहयोग गदै आएको तर मह उत्पादन भने बढ्नुको साटो घट्दै गएको छ ।
जाजरकोटमा गत वर्ष करिब १० टन अर्थात् १० हजार केजी मह उत्पादन हुने गरेकामा यस वर्ष ९० प्रतिशत घटेर एक टन अर्थात् एक हजार केजीको हाराहारीमा मात्र मह उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी नेपालीले बताए । उनका अनुसार जिल्लामा परम्परागत घार चार हजार २०२, आधुनिक घार एक हजार ९४६, खोपे अर्थात् घरको भित्तामा एक हजार ८४ गरी सात हजार हजार २२६ वटा घार रहेका छन् ।
यी घारमा करिब ९१ हजार ४२३ कजी अर्थात् ९१ टन मह उत्पादन क्षमता रहेको भए पनि जलवायु परिवर्तनका कारण हरेक वर्ष मह उत्पादन घट्दो क्रममा रहेको नेपालीले बताए । त्यस्तै भेरी नगरपालिका–१ मैदे, पिपे पनि मह उत्पादनका हिसाबले राम्रो मानिँदै आएको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




