संघीय सरकारको चालू खर्च ३१७ अर्ब पुग्यो, पुँजीगत खर्च २८ अर्ब

-



     सफल आवाज    
     पौष २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ पुस । चालू आवको पाँच महिनामा संघीय सरकारको चालू खर्च तीन खर्ब १७ अर्ब पुगेको छ । अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा संघीय सरकारको चालू खर्च तीन खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

चालू खर्चको तुलनामा पुँजीगत खर्चको ग्राफ भने कछुवा गतिमा देखिएको छ । चालू आवको पाँच महिनामा २८ अर्ब ४० करोड रुरपैयाँ पुँजीगत खर्च भएको छ भने वित्तीय व्यवस्था अन्तर्गतको खर्च ४१ अर्ब ३० करोड गरी कुल खर्च तीन खर्ब ८७ अर्ब ३ करोड खर्च भएको छ ।

नेपाल राष्ट्र बैंक गरेको समीक्षा अवधिमा सरकारको कर राजस्व तीन खर्ब ८० अर्ब २३ करोड रुपैयाँ संकलन भएको छ । त्यस्तै गैरकर राजस्वअन्तर्गत ३२ अर्ब १७ करोड रुपैयाँ संकलन गरेको छ । कर र गैरकर गरेर चार खर्ब १२ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ ।

यस अवधीमा संघीय सरकारले ट्रेजरी विलमार्फत् ६ अर्ब रुपैयाँको आन्तरिक ऋण परिचालन गरेको छ ।

नगद मौज्दात

२०७८ मंसिर मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब ९१ अर्ब १९ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात एक खर्ब ९४ अर्ब ७० करोड रहेको थियो ।

प्रदेश सरकारको खर्च

चालू आर्थिक वर्ष २०७८/७९ को मंसिर महिनासम्ममा प्रदेश सरकारले (स्रोत प्राप्ति) ५८ अर्ब ८४ करोड रुपैयाँ भएकोे छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ४१ अर्ब ३४ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट १७ अर्ब ५० करोड रुपैयाँ परिचालन गरेका छन् । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च २७ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।