हुम्लामा दैनिक १८ घण्टा विद्युत् भार कटौती

-



     सफल आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित



सिमकोट, ११ माघ । हुम्लाको २ वटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत् नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ ।

५ सय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा लामो सयमसम्म विद्युत् भार कटौती गर्दै आएको हो । दिनमा १८ भन्दा बढी विद्युत् भार कटौती हुन थालेपछि यहाँका स्थानीय विरोध पनि जनाउन थालेका छन् । यता आयोजनाले भने पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्न नसकेको जनाएको छ ।

विद्युत् कटौतीको मारमा उद्योग व्यसायी

जिल्ला सदरमुकाम सिमकोट र आसपासका गाउँपालिकामा ७० भन्दा बढी उद्योग व्यवसायीले नेपाल सरकारको इजाजतपत्र लिएर उद्योग सञ्चालन गर्दै आएका छन् ।

१ दशकभन्दा लामो समयदेखि १८ घण्टासम्मको विद्युत् भार कटौतीले जिल्लाका उद्योग व्यवसायी संकटमा परेका छन् । हेल्दुम जलविद्युत् कार्यालयको कार्य तालिका बिना विद्युत् भार कटौती गरेकोले आफूहरूको व्यवसायमा झन् समस्या भएको गुनासो गर्दै आएका छन्। विद्युत् सेवा नियमित नहुँदा महशुल उठाउन नसकेपछि आयोजनाका कामदारलाई पछिल्लो समयको तलब दिनसमेत समस्या भएको सञ्चालक कृष्णबहादुर हमालले बताए ।

विद्युत् अभावमा कार्यालयका काममा समस्या

विद्युत् सेवा नियमित नहुँदा सदरमुकाममा रहेको सिमकोट गाउँपालिकासहित सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा पनि असर परेको छ । समयमै विद्युत् सेवा उपलब्ध नहुँदा प्रशासनिकदेखि अन्य काम गर्न कठिन भएको र अति आवश्यक काममा पनि बाधा पुग्ने गरेको सरोकार व्यक्तिको गुनसो छ ।

इलोक्ट्रोनिक पसलमा असर

सिमकोटमा रहेका इलोक्ट्रोनिक पसलमासमेत विद्युत् भार कटौतीको असर परेको छ । उनीहरूले विद्युतीय प्रिन्ट, फोटोकपी, इमेल फ्याकलगायत काम गर्न कठिन भएको सदरमुकामस्थित कालिञ्चोक इलोक्ट्रोनिक पसलका सञ्चालक सुनमति सिंहले बताए । नियमित विद्युत् नहुँदा पसलमा सेवा लिन आउने सेवाग्राहीलाई समयमै सेवा दिन नसकेको उनको गुनासो थियो ।

विद्यार्थीलाई अध्ययनमा बाधा

एसइई तयारी गरिरहेका विद्यार्थीलेसमेत विद्युतको विद्युत् भार कटौतीको मार खेपिरहनु परेको छ । १८ घण्टासम्म विद्युत् भार कटौती हुँदा राति अबेरसम्म पढ्न समस्या हुने गरेको विद्यार्थीको गुनासो छ । प्रायजसो दिनमा र राति १० बजेसम्म विद्युत् नहुँदा आफूहरूले यसको मार खेप्नुपरेको उनीहरूको भनाइ थियो ।

पढ्नका लागि उज्यालो चाँहिन्छ । तर, १० बजेपछि विद्युत् आउँदा निन्द्रा लागिसक्छ यसरी ढला गरी विद्युत् आउँदा पढाइमा समस्या भएको एसइई तयारी गरिहरहेका सुशील बोहराको गुनासो थियो ।

पानी कम हुँदा बढ्यो लोडसेडिङ

केन्द्रका २ हजार १०० भन्दा बढी ग्राहक रहेको उक्त आयोजनामा पानीको स्रोत कम भएकै कारण २०६५ सालमा सञ्चालनमा आएदेखि नै आयोजनाले विद्युत् भार कटौती गर्नुपर्ने बाध्यता आइपरेको विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

५ सय किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएको उक्त आयोजनाको पावर हाउसमा २ वटा उपकरण जडान गरिएका छन् । तर, दुवै उपकरणबाट विद्युत् उत्पादन भने हुन सकेको छैन । अहिलेसम्म अधिकतम ३२० किलोवाट मात्र विद्युत् उत्पादन भएको उनले जानकारी दिए । बत्ती बाल्नका लागि लक्षित यस आयोजनाबाट उद्योगका लागि विद्युत् आपूर्ति गर्न नसकिएको आयोजनाले जनाएको छ ।