२ अर्बकाे एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिनका लागि आज अन्तिम दिन रहेको छ । बैंकले माघको ३ गतेबाट वार्षिक साढे ८ प्रतिशत ब्याजदरको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याएको थियो ।

“एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६ नामक सो ऋणपत्रको समयावधि ८ वर्षको रहेको छ । बैंकले प्रतिकित्ता १००० रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

उक्त ऋणपत्रबाट ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । यसबाट ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ ।

बाँकी रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत किसिमले बिक्री गर्नेछ । लगानी गर्न चाहने लगानीकर्ताले घटिमा २५ र बढीमा १ लाख कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

बैंकले माघ ३ गतेबाट बिक्रीमा ल्याएको सो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति आजसम्म तोकिएको थियो। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।