एफएनसीसीआइद्वारा पूर्व कोषाध्यक्ष मानन्धरको निधनप्रति दुःख व्यक्त

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष लक्ष्मीदास मानन्धरको निधनप्रति नेपाल उद्योग वाणिज्य महासंघद्वारा दुःख व्यक्त गरेको छ । मानन्धरको यही माघ ६ गते विहीबारका दिन निधन भएको थियो । महासंघले उनको निधनले निजी क्षेत्रले अभिभावक गुमाएको जनाएको छ ।

महासंघका सदस्य संस्था साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका अध्यक्षसमेत रहेका उद्योगपति एवं समाजसेवी मानन्धर महासंघमा वि.सं. २०३५ सालदेखि करिव डेढ दशकसम्म निरन्तर रुपमा कार्यकारिणी समितिका सदस्य थिए । महासंघका पूर्व अध्यक्ष स्व. पशुपति गिरीको दोस्रो कार्यकाल २०४१ सालदेखि २०४३ सालमा उनी मानन्धर कोषाध्यक्ष पदमा निर्वाचित भइ महासंघको संस्थागत तथा छवि विकासमा निभाएको भन्दै महासंघले सधै स्मरण गर्ने बताए ।

महासंघको संस्थागत विकास र भौतिक पूर्वाधार निर्माणमा पनि उनको अमूल्य योगदान रहेको थियो । समस्त उद्योगी व्यवसायीहरुको प्रिय पात्र तथा स्पष्ट वक्ताको रुपमा परिचित स्व. मानन्धर महासंघको प्रतिनिधित्व गरी विभिन्न देशहरुमा भएका व्यापारिक भ्रमणमा नेपालको आर्थिक औद्योगिक, व्यवसायिक, श्रम, व्यापारका विषयहरुमा सशक्त एवं बलियो आवाज राख्ने व्यक्तित्वको रुपमा परिचित थिए ।