गुराँस लघुवित्तको नाफा ४७ प्रतिशत घट्यो, चुक्ता पुँजी ९ करोड ७५ लाख

-



     सफल आवाज    
     माघ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ माघ । गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा करिब ४७ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा लघुवित्तको खुद मुनाफा ४६.८२ प्रतिशतले घटेर ७३ लाख ८९ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ ।

गत वर्षको तुलनामा लघुवित्तको नाफा करिब ६५ लाख रुपैयाँ माइनसमा गएको हो । गत आवको पहिलो ६ महिनामा लघुवित्तले १ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ३ प्रतिशत बढेको छ । विवरणअनुसार लघुवित्तले ३ करोड ५१ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा लघुवित्तले ३ करोड ४० लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको सञ्चालन मु्नाफा पनि ४६.८२ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तले २ करोड १८ लाख ३५ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो भने चालू आवको सोही अवधीमा १ करोड १६ लाख ११ हजार रुपैयाँ मात्रै आर्जन गरेको हो ।

चालू आवको पहिलो ६ महिनामा लघुवित्तको चुक्ता पुँजी १६.९१ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । त्योसँगै निक्षेप ३३.९७ प्रतिशत बढेर २४ करोड ६४ लाख ४८ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष १३.९२ प्रतिशत घटेर २ करोड ७६ लाख ३० हजार रुपैयाँमा झरेको छ ।