नियम उल्लंघन गर्ने बिमा कम्पनीलाई धमाधम कारबाही गर्दै बिमा समिति

-



     सफल आवाज    
     माघ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ माघ । नियम उल्लंघन गर्ने बिमा कम्पनीहरुमाथि बिमा समिति आक्रामक बन्दै गएको छ । पछिल्लाे सातामात्रै समितिले नियम उल्लंघन गरेको भन्दै १ दर्जन कम्पनीलाई कारबाही गरेको हो ।

बिमा समितिले जारी गरेको निर्देशिकाहरु पालना नगरेको भन्दै नेपाल लाइफ, प्राइम लाइफ इन्स्योरेन्ससहित १२ कम्पनीलाई कारबाही गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ उल्लघंन गरेको भन्दै १० हजार रुपैयाँ र समयमै लेखापरीक्षणको प्रतिवेदन नबुझाएको भन्दै थप १० हजार गरी २० हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

संस्थागत सुशासनसम्बन्धी निर्देशिकाअनुसार तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्ति गरेको भन्दै कारबाही गरेको बिमा समितिका निर्देशक तथा प्रवक्ता राजुरमण पौडलले जानकारी दिए । पौडलका अनुसार इन्स्योरेन्सले एउटा समिति तथा उपसमितिमा संयोजक रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा पनि संयोजकको जिम्मेवारी दिएको भन्दै थप कारबाही गरेको थियो ।

प्राइम लाइफ इन्स्योरेन्सलाई पनि सुशासनसम्बन्धी निर्देशिका २०७५ र वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशिका उल्लघंन गरेको भन्दै कारबाही गरेको हो । कम्पनीले सुशासनसम्बन्धि निर्देशिका २०७५ को दफा १२ उल्लघंन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको नियुक्ति गरेको र बिमितको हकहित विपरित नक्कली बिमालेख जारी गरेको भन्दै २० हजार रुपैयाँ जरिवाना गराएको हो ।

बिमा समितिले बिमा ऐन २०४९ र बिमा नियमावली २०४९ बमोजिम तोकिएको समयसिमाभित्र आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै नेपाल लाइफसहित दि ओरियन्टल, नेसनल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा संस्थान, गुराँस लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो ।

प्रवक्ता पौडलका अनुसार कम्पनीहरुले बिमा व्यवसायको लेखा परीक्षण प्रतिवेदन नबुझाएको हुँदा १० हजार रुपैयाँको दरले जरिवाना गर्ने गरी कारबाही गरेको हो । ऐनअनुसार बिमा ऐन २०४९ को दफा २५ बमोजिम बिमा कम्पनीहरूले आफूले गरेका बिमा व्यवसायको लेखा परीक्षण मान्यताप्राप्त लेखा परीक्षकबाट आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिमा पेश गर्नुपर्ने प्राब्धान छ ।