
भजनी, २४ माघ । अछामको बान्निगढी गाउँपालिका–६ साबिक दर्ना गाविसमा २०७० सालमा पहिलो पटक बिजुली बत्ती बलेको थियो । दर्नावासीको लामो प्रयासका बाबजुद कैलाश खोलाको पानीबाट ८३ किलोवाट क्षमताको आयोजना सुरु भए पनि त्यो आयोजना सात वर्ष नपुग्दै खस्कदो अवस्थामा पुगेको छ ।
जलविद्युत् आयोजनाको पानीको कुलो बाढीले बगाएपछि त्यसको सञ्चालनका लागि कुनै पहल नभएको स्थानीयबासी बताउँछन् । स्थानीय क्षेत्रमा उत्पादन भएको विद्युत्ले स्थानीयबासीलाई निकै राहत मात्रै दिएको थिएन गाउँमा साना तथा मझौला उद्योगहरु समेत सञ्चालनमा आएका थिए ।
साढे चार करोडको लागतमा निर्माण भएको लघु जलविद्युत् आयोजनाको ६ सय मिटर कुलो भत्किएको छ । सो आयोजनाको एक किलोमिटर सात सय मिटर लामो कुलो रहेको छ । साविकको दर्ना गाविसका ६६२ र कालागाउँ गाविसका ४५० घरधुरी विद्युत्को पहुँचमा रहेका थिए । आयोजना सञ्चालनका लागि आफूहरुले पहल गरेको भए पनि त्यसको सुनुवाइ नभएको बान्निगढी जयगड गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताएका छन् ।
‘प्रदेशका माननीय आएर अब विद्युत् आयोजना सञ्चालन नल्याउने र राष्ट्रिय प्रसारण लाइन जोड्ने भनेर जानुभयो । राष्ट्रिय प्रसारण लाइन पनि जडान भयो,’ गाउँपालिकाका अध्यक्ष खड्काले भने, ‘अहिले उपभोक्ता मारमा छन् । विद्युत्को चुहावट निकै बढेको छ । प्राधिकरणलाई एक वर्षमा २८ लाख तिर्नुपर्ने देखिएको छ । उपभोक्तासँग पैसा उठाएकै छ ।’ उनले विद्युत् सहकारीमार्फत सञ्चालन हुँदै आएको राष्ट्रिय प्रसारण लाइनले उपभोक्ताहरुलाई निकै मारमा पारेको बताउँदै त्यसको छिट्टै समाधान गर्न आवश्यक रहेको बताए ।
गाउँपालिका अध्यक्ष खड्काले त्यो पनि अस्थायी सम्झौताअनुसार बिजुली बत्ती बालिएको र २८ लाख बक्यौता तिर्न नसक्दा तीनपटक विद्युत्लाइन काटिएको बताउँदै त्यसको गाउँपालिकाले जिम्मा लिएर अहिले जडान गरिएको बताए । उनका अनुसार राष्ट्रिय प्रसारण लाइन जतिबेला पनि काटिन सक्नेछ ।
उपभोक्ताले लघुजलविद्युत् आयोजना सञ्चालनमा हुँदा न्यूनतम ५० रुपैयाँ र प्रतियुनिट ७ रुपैयाँका दलले विद्युत् महसुल तिर्नुपर्थ्यो । अहिले राष्ट्रिय प्रसारण लाइन जोडिएपछि उपभोक्ताहरुले न्यूनतम एक सय रुपैयाँ र प्रतियुनिट १५ रुपैयाँका दरले विद्युत् महसुल तिर्दै आएका छन् । लघु जलविद्युत् आयोजना हुँदा दिनमा २२ घन्टा बत्तीको सुविधामा रहेका उपभोक्ता अहिले कहिलेकाहीँ विद्युत् अवरुद्ध हुँदा दिनहुँ बत्ती बिनै बस्नुपर्ने अवस्थामा रहेको स्थानीय हिक्मत थापा बताउँछन् ।
लघु जलविद्युत् आयोजना सञ्चालनमा हुँदा स्थानीय पाँचजनाले रोजगारीसमेत पाएका थिए । अहिले जलविद्युत् आयोजना व्यवस्थापन समितिले उनीहरुलाई जागिरबाट हटाइसकेको छ । २५ महिनाको तलबसमेत कर्मचारीहरुले अझै नपाएको विद्युत् आयोजनामा काम गर्दै आएका झनक थापाले बताए । ‘पुरानो २५ महिनाको तलब पाएका छैनौं । आयोजना सञ्चालनका लागि पनि कुनै पहल भएको छैन । समितिले माघ ५ गतेदेखि कर्मचारीहरुलाई अवकाश दिइसकेको छ,’ थापाले भने, ‘जागिरबाट अवकाश दिए पनि काम गरेको पैसा त दिनुपर्ने हो । पटकपटक आफूहरुले पाउनुपर्ने रकम माग गर्दा पनि त्यसको सुनुवाइ भएको छैन । त्यसैमा पनि तीनजनाको बीमाबापतको ५७ हजार पनि समितिले तिरेको छैन ।’








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




