सुजङ अस्पतालमा पत्रकारलाई २० प्रतिशत छुट

-



     सफल आवाज    
     माघ २५ गते २०७८ मा प्रकाशित



डोटी, २५ माघ । सुजङ अस्पताल दिपायल राजपुरले जिल्लामा कार्यरत पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाको समन्वयमा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारलाई सहुलियत दिने निर्णय गरेको हो ।

ल्याबका सबै प्रकारका जाँच, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा निःशुल्क, विषेशज्ञ सेवामा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए । अस्पतालका प्रशासन प्रमुख बलायर र पत्रकार महासंघका अध्यक्ष मोहन शाहीले स्वास्थ्य सेवामा छुट गर्ने गरी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको शाखा सचिव केशवचन्द्र महराले जानकारी दिए ।

उनका अनुसार सम्झौताअनुसार स्वास्थ्य सेवा लिने व्यक्ति महासंघको साधारण सदस्य हुनुपर्ने उल्लेख छ । स्वास्थ्य सेवा लिन जाँदा महासंघको सदस्यताको परिचयपत्र र महासंघको सिफारिस पेश गर्नुपर्ने प्राब्धान छ ।

जिल्लामा पत्रकारले निर्वाह गरेको सामाजिक उत्तरदायित्व, मर्यादा, स्वास्थ्य क्षेत्रमा पुर्‍याउँदै आएको योगदान र भूमिकाको मूल्यांकन गर्दै स्वास्थ्योपचारमा सहजता पुगोस् भन्ने उद्देश्यले उपचारमा सहुलियत दिने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख बलायरले बताए । मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारको अर्थावस्था अहिले पनि कमजोर रहेकामा अस्पतालले पत्रकार तथा उनीहरूका परवारका लागि उपचारमा सहुलियत दिन गरिएको निर्णय सराहनीय भएको महासंघका अध्यक्ष शाहीले बताए ।

महासंघले जिल्लामा रहेका अन्य अस्पतालसँग पनि पत्रकार तथा उनीहरूका परिवारको उपचारका लागि सहुलियत दिलाउन पहल गर्ने अध्यक्ष शाहीले जानकारी दिए । सुजङ अस्पताल ५० शय्याको सामुदायिक अस्पताल हो । अस्पतालले अर्थावस्था कमजोर भएका नागरिकलाई पनि उपचारमा सहुलियत दिँदै आएको छ ।