
काठमाडौं, २७ माघ । ५ तारे होटलको इजाजत पाएको याक एण्ड यति होटलको इजाजत पत्र रद्द गरेपछि फेरि पर्यटनमन्त्री आले चर्चामा आएका छन् । पछिल्लो समय सरकारी सम्पत्तिको संरक्षण र राजस्व संकलनमा जुटेका मन्त्री आले सरकारलाई अटेर गर्ने कम्पनीलाई धमाधम कारबाही गर्न थालेका छन् ।
नारायणहिटी दरबारमा बतास समूहले बनाइरहेको रेष्टुरेन्ट भत्काउनेदेखि बतासले नै पशुपति धर्मशालामा होटल सञ्चालन गरेको सम्झौता रद्द गरेपछि पछिल्लो समय निकै चर्चामा आइरहेका छन् । बुधबार फेरि राजधानीको मुटुमा रहेको याक एण्ड यति होटल लिमिटेडमा सञ्चालित क्यासिनोले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेको भन्दै क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेपछि मन्त्रीले थप चर्चा बटुलेका हुन् ।
क्यासिनोले इजाजतपत्र नवीकरण दस्तुर, रोयल्टी दस्तुर तथा बाँकी बक्यौता गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ बुझाउन बाँकी रहेको पर्यटन विभागको होटल शाखाले जनाएको छ । पटक पटक ताकेता गर्दा पनि अटेर गरेको भन्दै इजाजत पत्र रद्द गरेको विभागले जनाएको छ ।
पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले भने, ‘राष्ट्रिय दैनिक पत्रिकामा समेत सार्वजनिक सूचना निकाल्दा पनि नेपाल सरकारलाई बक्यौता नतिरेको हुँदा इजाजत रद्द गर्नुपरेको हो ।’ जिसीका अनुसार मन्त्रिपरिषद्को बैठकले क्यासिनो सञ्चालनको इजाजत पत्र र पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्नुका साथै होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति तथा बैंक खाता र वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८ पुस २२ मा होटल याक एण्ड यतिको नाममा क्यासिनो सञ्चालन गर्न इजाजतपत्र जारी गरेका थियो । विभागको अभिलेखअनुसार अहिलेसम्म आर्थिक वर्ष २०७६/७७ सम्मको बाँकी बक्यौता आर्थिक वर्ष २०७७/७८ को इजाजतपत्र नवीकरण दस्तुर, चालू आर्थिक वर्षको २०७८/७९ को रोयल्टी दस्तुरसमेत गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा होटल याक एण्ड यतिले बुझाएको छैन ।
विभागले निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पत्राचार गरेको छ ।
राष्ट्र बैंकलाई समेत होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन अनुरोध गरेको छ । पर्यटन विभागका अनुसार बक्यौता बुझाउन पटक पटक पत्राचार तथा सार्वजनिक सूचना निकाल्दा पनि होटलले अटेर गर्दै आएको थियो ।
बक्यौता दाखिलाका लागि गत कार्तिक ७ गते ३५ दिने र गत पुस २७ मा १५ दिने सूचना निकालेको थियो । त्यसपछि पनि होटलले चाँसो नदिएपछि गत हप्ता माघ १९ गतेको गोरखापत्र दैनिकमा ७ दिनभित्र क्यासिनो सञ्चालन बापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गर्दा पनि बक्यौता नतिरेपछि कारबाही गरेको जिसीले बताए ।
उनका अनुसार क्यासिनो नियमावली २०७० को नियम १४ बमोजिम होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको ५ तारा स्तरको स्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोकका राख्ने निर्णय गरिएको हो ।









काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




