नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

-



     सफल आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ फागुन । नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजक रहेको छनौट समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो ।

इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हमालले ८ वर्ष नेपाल विद्युत् प्राधिकरणमा काम गरेको अनुभव छ । अध्ययनका लागि उनी लामो समय थाइल्याण्डको बैंककमा बसे ।

करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेका हमालसँग संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर पनि काम गरेको अनुभव छ ।