आजबाट सुरु हुँदै नेपाल-भारत ऊर्जा बैठक

-



     सफल आवाज    
     फागुन ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ फागुन । नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्ने भएको छ । बैठक दिउँसो ३ बजे ह्यात होटलमा बस्ने उर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सहसचिव स्तरीय बैठकपछि भोलि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्नेछन् ।

दुई देशबीचको ऊर्जा बैठकमा नेपाल-भारत विद्युत् व्यापार, संरचना निर्माणलगायतका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । नेपालले दुई देशबीच विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माण गर्नेदेखि नीतिगत समस्या समाधानका विषयलाई उठाउने छ । सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक प्रत्येक ६/६ महिनामा बस्ने प्राब्धान छ ।