
काठमाडौं, २६ फागुन । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा करिब २० प्रतिशत मात्रै पुँजीगत बजेट खर्च भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पटक-पटक ताकेता गर्दा पनि पुँजीगत खर्चको अवस्था सुधार नभएपछि बुधबार फेरि मन्त्री शर्माले विभिन्न मन्त्रालयसँग अन्तक्रिया गरे ।
विभिन्न मन्त्रालयलाई पुँजीगत बजेट खर्चमा जोड दिन निर्देशन पनि दिए । प्रत्येक मन्त्रालयले विकासे बजेट खर्च गरेर चालू आवमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका हुन् ।
अर्थमन्त्रालयमा बुधबार गरिएको फागुन २५ गतेसम्मको खर्चको समिक्षाअनुसार गत वर्षको तुलनामा केही सुधार भए पनि लक्ष्यअनुसार प्रगति नभएकाे उनले बताए । ८ महिनामा २० प्रतिशत मात्रै खर्च हुँदा बाँकी ४ महिनामा ८० प्रतिशत खर्च गर्ने अवस्था सहज नभएकाे उनले बताए ।
मन्त्रालयकाे तथ्याकअनुसार आर्थिक वर्ष ०७७/७८ को माघमसान्तसम्म चालू, पुँजी र वित्तीय खर्च ३३.९१ प्रतिशत थियो । जसमा १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले त्यस वर्ष माघसम्म ५ खर्ब ४० लाख मात्रै खर्च गरेको थियो । चालू आर्थिक वर्ष ०७८/७९ को माघमसान्तसम्म कुल बजेटको ३६.२० प्रतिशत खर्च भएको छ । जसमा पुँजी, चालू र वित्तीय खर्चसहित माघसम्म ५ खर्ब ९१ अर्ब १४ करोड ३३ लाख रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी चालू खर्च शिक्षा मन्त्रालयले गरेको छ । सो मन्त्रालयको चालू खर्च ५०.४० प्रतिशत र पुँजीगत खर्च ७.४७ प्रतिशत खर्च गरेको हाे । मन्त्रालयका अनुसार पुँजीगत खर्च भने सबैभन्दा बढी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च गरेको छ । स्वास्थ्यले ३१.२८ प्रतिशत पुँजीगत खर्च गरेकाे हाे ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कुल बजेटको १३.२७ प्रतिशत, कृषि मन्त्रालय २४.६१, खानेपानी २१.२३, पर्यटन १४.१०, वन तथा वातावरण मन्त्रालयले ३५.५०, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय २३.५६, सहरी विकास २४.८५, शिक्षा ५०.१२, संघीय मामिला तथा सामान्य प्रशासन २०.२० र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म कुल बजेटको २२.९७ प्रतिशत खर्च गरेको हो । समग्रमा हेर्दा अहिलेसम्म चालू, पुँजी तथा वित्तीय खर्च गरेर मन्त्रालयहरुले २४.०७ प्रतिशत बजेट खर्च गरेको छ ।
९० प्रतिशत खर्च गर्ने मन्त्रालयहरुको दावी
विभिन्न मन्त्रालयका सचिवहरुले पुँजीगत खर्च ९० प्रतिशतभन्दा बढी गर्ने दावी गरेका छन् । चालू आर्थिक वर्षको अन्त्यसम्ममा विनियोजित पुँजीगत बजेट ८० देखि ९० प्रतिशतसम्म खर्च गर्ने दावी गरेका हुन् । चालू आर्थिक वर्षको अन्तिमसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९० प्रतिशतसम्म खर्च गर्न जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि चालू आर्थिक वर्षको अन्तिमसम्म ९० प्रतिशतभन्दा बढी खर्च हुने जनाएको छ ।
ऊर्जा, जलस्रोत मन्त्रालयले ८० प्रतिशत, सिचाई मन्त्रालयले ८५ देखि ९० प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ७० देखि ७५ प्रतिशत, खानेपानी मन्त्रालयले ७५ प्रतिशत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० प्रतिशत, भौतिक पूर्वाधार मन्त्रालयले ७५ देखि ८० प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ८० प्रतिशत पुँजीगत बजेट खर्च गर्ने जनाएको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




