‘फेवा नव वर्ष’ महोत्सव चैत ३० गतेदेखि, पर्यटन प्रवर्द्धनमा महोत्सवले सघाउने विश्वास

-



     सफल आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित



पोखरा, ४ चैत । होटल संघ पोखराले १७औं फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लन चोकसम्मको सडकमा महोत्सव हुने भएको हो । कोभिड–१९ का कारण २ वर्षसम्म स्थगित महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ ।

महोत्सवको प्रायोजक अन्नपूर्ण केवलकार रहेको छ भने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । २ दिने महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएका छन् । लेकसाइडका विभिन्न शाखा मार्गहरुलाई लक्षित गरी संयोजकहरु समेत छनौट गरिएको छ ।

होटल संघ नेपालका केन्द्रिय सदस्य एवं संघका सल्लाहकार भरतराज पराजुली र संघका अर्का सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले महोत्सवलाई सफल पार्न विभिन्न सुझाव राख्दै सम्बन्धित सबै व्यवसायी एकजुट भएर सक्रियता प्रदर्शन गर्न आग्रह गरे । कोभिड–१९ का कारण थला परेको पर्यटनलाई पुनर्जागृत गर्न महोत्सव आयोजना गर्न लागिएको संयोजक सुवेदीले जानकारी दिए । पछिल्लो क्रममा पोखरामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको, भारतीय पर्यटक आउने क्रम सुरु भएको र कतिपय तेस्रो मुलुकका पर्यटकसमेत देखिन थालेको सुवेदीले बताए ।

आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवले सघाउने विश्वास सुवेदीले बताए । नेपाली नयाँ वर्षलाई भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्यगरी जोड दिनेछ । विभिन्न उपसमितिहरुको गठनसँगै महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारीहरु अगाडि बढिसकेको संघका महासचिव एवं महोत्सवको प्रचार समितिका संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

पोखरामा सेवा सुरु गरेको अन्नपूर्ण केवलकारसँग जोडिएर महोत्सवको प्रवर्द्धन गर्न पाउनु गर्वको कुरा भएको ढकालले बताए । रेवान पोखरासँगको समन्वयमा संघले सडकमा देशविदेशका खानाहरुको स्वाद चाख्ने व्यवस्था मिलाएको छ । अम्मट र सेन्टर प्वाइन्ट लगायतका क्षेत्रमा आकर्षक स्टेज निर्माण गरी दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरुलाई समेट्ने संघले जनाएको छ ।

ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति पनि सो अवसरमा रहने छन् । महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेबाट झाँकीहरुको र्‍याली निकालिने छ । यसैबीच गत फागुन ८ देखि ११ गतेसम्म आयोजित जाउँ है पोखरा कार्यक्रमका क्रममा संघले पूर्वी नेपालका विभिन्न क्षेत्रका वासिन्दालाई फेवा नव वर्ष महोत्सवमा सहभागिताका लागि निम्तासमेत दिएको छ ।