कोरोनाबाट ज्यान गुमाउने ४ सय पार, निको हुने ७२ प्रतिशत

-



     सफल आवाज    
     असाेज ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ असोज । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय नाघेको छ । गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभर १ हजार २ सय ४ जना संक्रमित थप भएको जानकारी दिए ।

यो सहित देशभर संक्रमित हुनेको कुल संख्या ६२ हजार ७ सय ९७ जना पुगेका छन् । पछिल्लो समय १० हजार ३ सय ३३ जनाको आरडीटी–पीसीआर परीक्षण गरिएको थियो ।

यस्तै, सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ जना पुगेका छन् । जसमध्ये आइसोलेसनमा १ हजार १ सय ५३ र होम आइसोलेसनमा ७ हजार ९ सय ७६ जना बसेका छन् ।

हालसम्म ४५ हजार २ सय ६७ जना निको भएका छन् । गएको २४ घण्टामा १ हजार ४ सय ४७ निको भएका हुन् । निको हुनेको दर बढेर ७२ प्रतिशत पुगेको छ । संक्रमितमध्ये १ सय ७९ जनाको आइसोलेसनमा र ३५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

नेपालमा शुक्रबारमात्रै २०२० जना कोरोना संक्रमित थपिएका थिए । सो संख्या एकै दिनमा संक्रमित भेटिने अहिलेसम्मकै उच्च संख्या हो ।