नेपाल पत्रकार महासङ्घ ६७औँ वर्षमा प्रवेश

-



     सफल आवाज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौँ, १६ चैत । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घ स्थापनाको ६७औँ वर्षमा प्रवेश गरेको छ । पत्रकारको हकहितका निम्ति स्थापित महासङ्घ नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेसागत मुद्धाका लागि अविछिन्न रुपमा लड्दै आएको छ ।

६७औँ वर्षमा प्रवेश गर्दैगर्दा महासङ्घले तीन तहमा बन्दै गएका कानुनका कतिपय व्यवस्थामा असहमति जनाउँदा त्यसलाई सच्चाउनेतर्फ भन्दा तिनलाई उपेक्षा गर्ने चरित्र राज्यले देखाएको जिकिर गर्दै आएको छ । नेपाली प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउने सन्दर्भमा पत्रकार महासङ्घ गम्भीर रहेको तथा त्यसका लागि आवश्यक कानुन बनाउने सन्दर्भमा सकारात्मक रहेको जनाउँदै अध्यक्ष विपुल पोखरेलले नियन्त्रणकारी मनसायका साथ कानुन बनाउने खोजिए महासङ्घले सशक्त प्रतिवाद गर्ने बताए ।

महासङ्घले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना र आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना गर्नुपर्ने माग गर्दै आएको छ ।

अध्यक्ष पोखरेलले दिवसका अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रेस काउन्सिलको पुनःसंरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन र श्रमजीवी पत्रकार कल्याण कोषमा विज्ञापनको १० प्रतिशत रकम राख्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन गर्न आग्रह गरे ।

महासङ्घले पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचारको प्रबन्ध, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका माग पूरा गर्न सरकारसहित सम्बन्धित निकायमा ध्यानाकर्षणसमेत गराउँदै आएको छ ।