बिपी कोइरालाको जीवनका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र शुक्रबार पोखरामा प्रदर्शन हुने

-



     सफल आवाज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ चैत । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र यहि चैत्र १८ गते शुक्रबार बिहान पोखरामा प्रदर्शन हुने भएको छ ।

वृत्तचित्र चिप्लेढुंगा, टे«डमलस्थित सिनेप्लेक्समा बिहान ८ः४५ बजे प्रदर्शन गरिने सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले जानकारी दिएका छन् ।

वृत्तचित्रमा विसं २०३१ देखि २०३६ साल सम्मका घटनालाई समेटिएको छ । करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधान सम्पादक जगत नेपालले जानकारी दिए । वृत्तचित्रमा भिडियोग्राफी र सम्पादनको काम मानबहादुर थापाले गरेका छन ।

बिपी, गणेशमान लगायत नेता माथिको राजद्रोहको मुद्दाको फैसला गर्ने न्यायाधीश जनकमान श्रेष्ठ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, बिपीको चिकित्सकका रुपमा काम गरेका डा. मृगेन्द्रराज पाण्डे, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायतको स्वर सङ्कलन गरिएकाले वृत्तचित्र जीवन्त बनेको छ ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्कँदा साथमै रहेका नेताहरु खुमबहादुर खड्का र नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाइँ लगायतको भनाइ पनि वृत्तचित्रमा समेटिएको छ ।

बिपीलाई विभिन्न समयमा विभिन्न शक्ति केन्द्रले प्रधानमन्त्री र राष्ट्रपतिको अफर गरेपनि देश बचाउन उनले ति आश्वासनलाई कसरी कुशलता पुर्वक अस्विकार गरेका थिए भन्ने विषय रोचक ढंगले प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसको संस्थापकसमेत रहेका बिपी आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाको समेत प्रवाह नगरी २०३३ साल पुस १६ गते किन स्वदेश फर्किए र कसरी जनमत संग्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रमा सूक्ष्मरुपमा देखाइएको छ ।

नेपाल प्रवेश गर्ने बित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्ड समेत हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता संकटमा पर्ने त्रासकाबीच बिपीले गरेको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रले गहिरो रुपमा देखाएको छ ।

ज्यान हत्केलामा राखेर मेलमिलापको नीति लिएर स्वदेश फर्केको भएकाले नै बिपी राजनेता बन्न सफल भए । मुलुकको सार्वभौमिकता जोगाउन उनले उठाएको जोखिमलाई वृत्तचित्रको मुल विषय बनाइएको छ । आज गौरवका साथ नाम लिइने नेपाल देशको स्वाधीनता कसरी जोगियो भन्ने विषयलाई वृत्तचित्रले प्रमाणिक हिसाबले प्रष्ट पारेको छ । वृत्तचित्रमा ऐतिहासिक पात्रकै माध्यमबाट त्यसबेलाका घटना दर्शकले हेर्न सक्ने छन् ।

इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र पनि बनाइने भएको छ । ऐतिहासिक विषयमा १२ वटा अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइएको सदस्य सचिव कोइरालाले बताए ।

अल थ्री मिडिया घरसँगको सहकार्यमा अन्य १२ वटा ऐतिहासिक वृत्तचित्र बनाउने कार्य अघि बढेको छ । विकसित देशमा यस्ता दस्तावेजको संरक्षण गर्ने काम राज्यले गर्ने भए पनि नेपालमा प्राथमिकतामा पर्न सकेको छैन । राज्यले ध्यान नदिएकै कारण कयौँ यस्ता तथ्य एवं सामग्री लोप भइसकेको छ । लोप नभएका तथ्य एवं सामग्रीको संरक्षणका लागि अन्वेषण अभियानले काम अघि बढाएको हो ।

इतिहासजस्तो गम्भीर विषयमा श्रव्य दृश्यजस्तो खर्चालु प्रविधिमार्फत ऐतिहासिक दस्तावेजको संरक्षण गर्नु चुनौतीपूर्ण काम भएकाले अभियानले सहकार्यका लागि सबैलाई आह्वान समेत गरेको छ ।

‘राजद्रोही राजनेता’ तयार भएसँगै अन्वेषण अभियानले ‘प्रजातन्त्रका लागि अपहरण’ र ‘मिसन ओखलढुङ्गा’ वृत्तचित्रको सम्पादनको काम अन्तिम चरणमा पुर्याएको छ ।

नेपाली कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका फाउन्डेसनका अध्यक्ष डा.शशाङ्क कोइराला एक दर्जनभन्दा बढी यस्ता वृत्तचित्र निर्माणको तयारी गरिएकाले यसमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउँछन् ।