एनआरएनएका ज्ञान, अनुभव र सहयोगबाट लाभान्वित हुनुपर्छ:थापा

-



     सफल आवाज    
     असाेज ४ गते २०७७ मा प्रकाशित



अमेरिका, ४ असोज । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एनआरएनएका ज्ञान, अनुभव र सहयोगबाट लाभान्वित हुनुपर्ने बताएका छन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटनको क्रममा उनले उक्त कुरा बताएका हुन ।

थापाले एनआरएनएले गरेको प्रयास निकै सह्रानीय भएको बताउँदै संसारभरी छरिएर रहेका नेपालीहरुलाई नेपालसँग जोड्न सँधै प्रतिबद्ध रहेको बताए । आज पर्याप्त स्रोत र साधनको अभावमा देश गुज्रिरहेको छ । यस्तो संकुचित अवस्थामा त्यसको अभाव पूर्ति गैरआवासीय नेपालीहरुका अनुभव र अभ्यासबाट हुन्छ भन्ने अपेक्षा छ । उनले भने, तपाईँहरुको अनुभव र सहयोगबाट नेपालले लाभ लिनुपर्छ ।

कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रबाट निकै महत्वपूर्ण योगदान पुर्याएको तर सरकारले इच्छाशक्ति देखाएर काम गर्न नसकेको उनकाे टिप्पणी थियो । उनले भने महामारीमा हामीबीच नयाँ अनुभवहरु भएका छन । उन्नत संरचनाहरु बनेका छन । यी सबैकुरा हुँदै गर्दा पनि राजनीतिक नेतृत्वमा इच्छाशक्ति अभाव देखिएको बताए । कोरोना महामारीले स्वास्थ्यसँगै आर्थिक तथा सामाजिक संकट समेत निम्त्याएकाले सरकार, गैरआवासीय नेपाली, राजनीतिक दल र सबै सरोकारवाला समन्वय गरेर अगाडी बढ्नुपर्ने उनकाे धारणाा थियाे ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले स्वास्थ्य समितिको सम्मेलन निकै अर्थपूर्ण भएको बताए । देशबाहिर रहेका ६० लाखभन्दा बढी नेपालीहरुको स्वास्थ्यमा समितिले निकै मत्वपूर्ण भूमिका खेलेको बताए । कतिपय राजदूतावास नभएका मुलुका नेपालीहरुका लागि समितिले उल्लेखनिय भूमिका निर्वाह गरेर सधैका लागि राजदूतावास चाहिन्छ भन्ने प्रमाणीत गरिदिएको पन्तको भनाई थियो । कोरोना महामारीको समयमा विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, आर्थिक संकट, खाद्यान्न व्यवस्थापन, स्वदेश फिर्ती लगायत कार्यमा एनआरएनएले निकै महत्वपूर्ण भूमिका खेलेको बताए ।

२ सयभन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको उक्त सम्मेलनमा एनआरएनएका प्रतिनिधिहरु, विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति थियो । ३ दिने सम्मेलन विश्व नेपाली स्वास्थ्य घोषणा पत्र जारी गर्दै आइतबार सकिदैछ ।

शुक्रबारदेखि अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको शनिबार औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गरेका थिए ।