बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न एआइआइएमएससँग डा आरजुको आग्रह

-



     सफल आवाज    
     चैत्र २० गते २०७८ मा प्रकाशित



नयाँदिल्ली, २० चैत। प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छन ।

सो इन्स्टिच्युटको भ्रमणका क्रममा डा देउवाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्नेबारेमा आग्रह गरिन ।

इन्स्टिच्युटका विज्ञहरूसँगको अन्तरक्रियामा डा देउवाले नेपालमा पनि एआइआइएमएसजस्ता संस्था स्थापना गरी तिनको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने बताइन ।

सरकारी र गैरसरकारी निकायको निरन्तर प्रयास हुँदाहुँदै नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाउन सकिएको भए पनि अझै यो समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले मुलुकको सुदूरपश्चिम क्षेत्रमा यो समस्यामा अझै रहेको देखिएकाले त्यस क्षेत्रमा एआइआइएमएसको सेवा लैजान आवश्यक रहेको बताइन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएकी डा देउवाले तीन दशकदेखि नेपालमा सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकी छन ।

एआइआइएमएसबाट एमबिबीएस र एमडी गर्नुभएका प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा रामपदार्थ बिछाले भारत सरकारले विभिन्न १२ राज्यमा एआइआइएमएसको सेवा विस्तार गरेको उल्लेख गर्दै नेपालमा तत्काल एउटै भए पनि एआइआइएमएस स्थापना हुनसके नेपाली जनताका लागि ठूलो सेवा पुग्ने बताए । उनले सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्ति तयार, सामूहिक अनुसन्धान, अनुभव आदान–प्रदान र असल अभ्यासमा सहकार्य गर्न सकिने सम्भावना रहेको बताएका थिए ।

सो अवसरमा प्रधानमन्त्रीका निजी सचिव प्रकाशबहादुर देउवा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का निजी चिकित्सक डा शैल रुपाखेती, नायब शिष्टाचार महापाल रेवती पौडेल उपस्थित थिए । एआइआइएमएसका मेडिकल सुपरिटेण्डेन्ट डा डिके शर्मा, डा नीरजा भट्ला, डा आरती भिज, डा कालोल रोय, डा नीना मल्होत्रा, डा भात्सला डडवाल, डा गरिमा दड्गवाट र डा अनुप डगालगायतका वरिष्ठ चिकित्सक र अधिकारीहरूको सहभागिता रहेको थियो । रासस