बैंकहरूको कर्जा प्रवाह घट्याे, १० अर्ब निक्षेप संकलन हुँदा ३ अर्बमात्रै लगानी

-



     सफल आवाज    
     चैत्र २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ चैत । पछिल्लो समय बैंकहरूले कर्जा प्रवाह कम गर्न थालेका छन् । बैंकहरूको निक्षेप बढ्दै गएपनि कर्जा प्रवाहमा भने सुस्तता आएको हो । चैत तेस्रो सातासम्ममा वाणिज्य बैंकहरूमा १० अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ३ अर्ब मात्रै थपिएको छ ।

नेपाल बैंकर्स संघकाे १८ चैतसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४१ खर्ब ३० अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप संकलन ३० फागुनसम्ममा ४१ खर्ब २० अर्ब रूपैयाँ मात्रै थियो ।

१८ चैतसम्ममा वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा ४१ खर्ब ७५ अर्ब रूपैयाँ रहेको छ । यस्तो कर्जा प्रवाह फागुन मसान्तमा ४१ खर्ब ७२ अर्ब रूपैयाँ रहेको पनि तथ्यांकले देखाएको  छ ।

वाणिज्य बैंकहरूले संकलन गरेको निक्षेप ११ चैतको तुलनामा १८ चैतसम्ममा भने १ अर्ब मात्रै बढेको छ । यो अवधिमा कर्जा प्रवाह भने ५ अर्ब रूपैयाँले बढेको तथ्यांकले देखाएको छ ।