
काठमाडौं, १ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तह निर्वाचन लैङ्गिक तथा समावेशी दृष्टिकोणले पनि उल्लेखनीय हुनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा रहेको बताएका छन्।
नयाँ वर्षको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले सम्पूर्ण बालिग मतदाता एवं देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्वाचनको महोत्सवमा सहभागी हुन आग्रह गरेका छन् ।
प्रमुख आयुक्त थपलियाले सन्देशमा भनेका छन्, “राजनीतिक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवारलाई मनोनयनमा प्राथमिकता दिनुपर्ने भनी कानूनको परिपालनामा जोड दिइएको व्यहोरा पुनःस्मरण गराएकाे छु ।
यसबाट स्थानीय तहको निर्वाचनमा महिला सहभागिता र प्रतिनिधित्व उल्लेखनीय हुनेछ भन्नेमा आयोग विश्वस्त छ ।” स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ७९ राजनीतिक दललाई आयोगले पत्राचार गरिसकेको छ ।
आगामी स्थानीय तहको निर्वाचन राष्ट्रिय जीवनको सबैभन्दा महत्वपूर्ण ‘न्यू इयर रिजुलुसन’ भएको बताउँदै उनले निर्वाचनलाई उत्सवका रूपमा लिएर मतदानमा सहभागी हुनु बालिग मतदाताको अधिकार र कर्तव्य दुवै हो भन्ने बिर्सनु हुँदैन भने।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने जिम्मेवारीबाट भाग लिने राजनीतिक दल एवं उम्मेदवारमुक्त हुन हुँदैन भन्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दल एवं उम्मेदवारबाट नयाँ वर्षमा गर्ने विभिन्न प्रतिबद्धतामा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने बुँदा छुट्ने छैन भन्ने विश्वास व्यक्त गरेका छन् ।
सन्देशमा उनले भनेका छन्, “नयाँ वर्षको सुरुआतसँगै नागरिकलाई घरदैलोमै सेवा पु¥याउने तथा जनताको नजिकको सरकार भनेर चिनिने ७५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिने यो अवसरलाई सबै मतदाताले आफ्नो मतको महत्व बुझेर अमूल्य मताधिकार प्रयोग गर्न म सम्पूर्ण मतदातासमक्ष आग्रह गर्दछु ।”






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



