ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानको १६औं स्मृति सभामा उत्कृष्ट कृषक र बिद्यार्थी सम्मानित

-



     सफल आवाज    
     वैशाख २ गते २०७९ मा प्रकाशित



मुस्ताङ २ वैशाख । तत्कालीन सांसद एवम् समाजसेवी ओम विकास र देउकुमारी गौचनको स्मृतिमा स्थापित “ओम विकास गौचन र देउकुमारी गौचन स्मृति प्रतिष्ठान” ले गाउँ पालिकाका उत्कृष्ट कृषक र बिद्यार्थीलाई सम्मानित गरेर १६औं स्मृति सभा सम्पन्न गरेको छ ।

मुस्ताङको कोवाङ गाउँपालिका २ खन्तीमा रहेको ओम बिकास गौचनको शालिकमा संविधानसभा सदस्य श्रीमाया थकालीले माल्यापर्ण गर्दै शुरु भएको स्मृति सभामा थकालीले ओम बिकास गौचनको राजनीति र सामाजिक क्षेत्रकाे चर्चा गरिन्। गौचनले राजनीति समाज सेवा हो भनेर निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल रहेको स्मरण गर्दै गाउँको जीवनस्तर बदल्न कर्ममा बिश्वास गर्नुपर्छ भन्ने मान्यता राख्ने गरेको बताइन्।

स्वर्गीय गौचन शिक्षाका प्रेरक, कृषि कर्मका प्रेरक, राजनीतिक अगुवा ब्यक्ति भएको र उनले समाजमा पुर्याएको योगदान अतुलनीय रहेको बताइन । उनको नाममा स्थापना भएको प्रतिष्ठानले पनि समाज सेवालाई केन्द्र बिन्दुमा राखेर काम गर्नु निकै प्रशंसनीय रहेको र आज कृषक र विद्यार्थीलाई सम्मानित गर्नु यसैको नमूना भएको बताइन्।

कार्यक्रम घरपझोङ गाउँ पालिकाका अध्यक्ष आश बहादुर थकालीले समाजलाई योगदान दिने ब्यक्ति भौतिक रुपमा नभए पनि उनका कर्मले सदा जिवित रहने बताउदै गौचनको योगदानलाई स्मरण गरे।

थासाङ गाउँ पालिकाका उपाध्यक्ष बालकुमारी शेरचनले, प्रतिस्ठानले शिक्षा, स्वास्थ र कृषिलाई प्राथमिकता दिदै यस क्षेत्रकाे बिकासमा योगदान पुर्याएको बताइन्।

५ गाउँ पालिकाका उत्कृष्ट कृषक र विद्यार्थीलाई सम्मान

सो अबसरमा जिल्लाका ५ गाउँ पालिकाका उत्कृष्ट कृषकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा थासाङ गापाका निरज तुलाचन, घरपझोङ गापाका पुर्णकुमारी थकाली, बारागुङ मुक्ति क्षेत्र गापाका न्हुन्यु गुरुङ, लोघेघर गापाका सोनान दुन्दुप गुरुङलाई कृषि औजार सामग्री र सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी जिल्ला उत्कृष्ट छात्रा ज्ञानोदय माध्यमिक विद्यालयका सुवास्ना गौचन, छात्र तर्फ जनहित मावी जोमसोमका कृष शेरचन र दलित विद्यार्थी तर्फ जनहीतकै सुरिता बिकलाई जनही १० हजार नगद, सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष सवि शेरचनले राजनितिक र सामाजिक ब्यक्तित्व आफ्नो बुबा आमाले समाजमा पुर्याएको योगदानलाई चिरस्थायी बनाउन आफुले प्रतिस्ठान मार्फत सामाजिक कार्यलाई निरन्तरता दिदै आएको बताइन ।  गौचन दम्पतीको २०६२ चैत ३० गते मुस्ताङको सौरु गाउँको आफनै घरमा हत्या भएको थियो ।

मुस्ताङको कोवाङ गाउँपालिका २ खन्तीमा गौचनको स्मृतिमा ओम बिकास गौचन चोकको नामाकरण सहित शालिक स्थापना गरिएको छ । सो शालीक निर्माणका लागि तत्कालीन साम्सद श्रीमाया थकाली र महेन्द्र शेरचनको निर्वाचन क्षेत्र विकास कोष २०७२/७३ बाट ६ लाख ५५ हजार रुपैयाँको लागतमा २०७३ सालमा चोकमा गौचनको शालिक निर्माण गरिएकाे हो । 

प्रतिष्ठानले शालिक छेउको करिब ६ रोपनी जग्गामा ओखर, स्याउ र किबि खेतीसमेत गरेको छ । कार्यक्रम पश्चात प्रमुख अतिथ, अतिथि लगायतले सो कृषि क्षेत्रकाे अवलोकन गरेका थिए।

स्मृति सभाकै अवसरमा प्रतिष्ठानले थासाङ गाउँपालिकाका महिलालाई नेतृत्व बिकास तालीमको आयोजना समेत गरेको थियो । तालीमको नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गरेकि थिइन । कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश भट्टचनले स्वागत र सचिव गौतम शेरचनले कार्यक्रम संचालन गरेका थिए ।