
पाेखरा, ६ वैशाख । सयपत्री समाजले स्थानिय तहको निर्वाचन लक्षित गरेर मंगलबार पोखरामा ‘स्वच्छ र स्वतन्त्र निर्वाचन किन र कसरी विषयक अन्तर्क्रिया सम्पन्न गरेको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख, अधिकारकर्मि, प्राध्यापकहरु, विद्यार्थी, कानून व्यवसायी, संचार तथा उपलव्ध राजनीतिक पार्टीका प्रतिनिधिबीच नजिकिएको निर्वाचनलाई स्वच्छ र स्वतन्त्र ढंगले कसरी सम्पन्न गराउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको हाे।
कार्यक्रममा गण्डकी प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले निर्वाचनका सम्बन्धमा अवधारणापत्र प्रस्तुत गर्दै नजिकिएको स्थानिय तहको निर्वाचनलाई सम्पन्न गर्ने दायित्व हामी सबैको भएको बताए । उनले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ र स्वतन्त्र ढंगले सम्पन्न गर्न आयोग लागिरहेकोले सबैले आचारसंहितालाई पालना गर्न आग्रह गरे ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले जनताले चाहेको व्यक्तिलाई नेतृत्वमा पुर्याउन निर्वाचन आचार संहिताको पालनामा कडाई गर्नुपर्ने बताए । साथै उनले आचार संहिता उल्लंघन गरेर काम गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
खकुरेलले निर्वाचनको क्यालेण्डर बनाएर जान सुझाव दिदैं तोकिएको समयमा निर्वाचन हुने संस्कारको विकास गर्न सके निर्वाचन हुन्छ कि हुन्न भन्ने संका नआउने बताए । उनले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र ढंगले सम्पन्न गर्न नागरिक समाजसंगको हातेमालो आवस्यक भएको बताए ।
गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य तथा वालगृह संजाल महासंघका महासचिव विजयकुमार प्रधानले निर्वाचन महंगो भएको, पैसा हुनेहरु मात्रै जान पाउने र पैसा नहुने तर योग्य मान्छे नेतृत्वमा पुग्नबाट बिन्चत हुने अवस्था आएको बताए । उनले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न दलहरुलाई आग्रह गरे । साथै आचार संहिता उल्लंघन गर्नेहरुलाई कारबाही गर्न आग्रह गरे ।
नागरिक समाजका अगुवा विष्णुप्रसाद वरालले आचार संहिता लागू भईसकेको अवस्थामा दलहरु र व्यक्ति विशेषबाट समाजिक संजालमा चुनावि गतिविधि गरिरहेको पाईएकोले यसको समुचित प्रयोग कसरी गराउने भन्नेतर्फ ध्यान दिन सुझाव दिए । उनले बलिया पार्टीले कब्जा गरेर भोट हाल्ने क्रम नरोकिएकाे र दलहरुको कार्यान्वयनको प्रतिवद्धता नभएको बताए । उनले पैसावालहरु र गुण्डागर्दि गर्नेलाई साथमा लिएकाले सहि नेतृत्व आउनेमा आशंका व्यक्त गरे ।
अधिवक्ता अनन्त कोईरालाले वडा नगरको कुरा केन्द्रीय नेतृत्वसम्म पुग्नु र टिकटको कुरा उतैबाट ल्याउने कसरत गरेको दृश्य राम्रो नभएको बताए । उनले निर्वाचन नजिकिएको अवस्थामा कतैकतै निर्वाचन हुन्नकी भन्ने जस्ता संदिग्ध कुराहरु आईरहेकोले निर्वाचन सर्छ भन्ने कुराको कल्पना गर्न नसकिने बताए ।
कार्यक्रममा नेकपा समाजवादीका नेता डिबि राई, नेकपा माओवादी केन्द्रका भानु अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, पत्रकार पूण्य पौडेल, अपांगता स्वावलम्बन संघका गिरधारी सुवेदी, गैसस गण्डकीका कार्यबाहक अध्यक्ष पदम पहारीले स्वच्छ र स्वतन्त्र निर्वाचनका लागि सबै जिम्मेवार हुनै पर्नेमा जोड दिए । साथै उनीहरुले विशेष अवस्थाका मतदाताका लागि मैत्रीपूर्ण कार्य हुनुपर्ने बताए । समानुपातिक सहभागिता, मैत्रीपूर्ण व्यहारका साथ दृष्टिबिहिन, अपांगता भएका, जेष्ठ नागरिकलगायतको मताधिकारकाे सहि उपयोग र आउने जाने सुविधालाई सहज बनाउन अनुरोध गरे ।
सयपत्री समाजका अध्यक्ष गेहेन्द्रेश्वर कोईरालाले स्थानिय निर्वाचनमा प्रभावकारी अनुगमनको खाँचो औंल्याउदै आचार संहिताको पालना र उल्लंन गर्नेहरुलाई तत्काल कारबाही गर्नुपर्ने बताए । उनले दलहरुको आर्थिक पारदर्शिता नागरिकले पनि बुझ्नु पर्ने र निर्वाचनलाई तोकिएको मितिमा सम्पन्न गर्ने हार्दिकता सबैमा हुनुपर्ने बताए ।
उपप्राध्यापक गिरधारी सुवेदीले सहजिकरण गरेको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष गहेन्द्रेश्वर कोईरालाले गरेका थिए ।








पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



