दोहोरो अंकले बढ्यो नेप्से, १३ वटै उपसमूहमा छायो हरियाली

-



     सफल आवाज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । नयाँ वर्ष २०७९ सालको पहिलो कारोबारदेखि नै राताम्मै हुँदै आएको सेयर बजारको आजको लय भने सकारात्मक देखिएको छ । नेप्सेमा सर्वत्र हरियाली छाएकाे छ ।

साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेप्सेमा छाएकाे हरियालीले लगानीकर्तामा उत्साह जगाएकाे छ। वातारण सकारात्मक बनेको भएपनि कारोबार रकम भने अघिल्लो दिनकोभन्दा कमी भएको छ । नेप्सेमा आएको हरियालीले लगानीकर्ताको मनाेवल बढाएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.६१ अंकले बढेर ४४७.७६ विन्दुमा पुगेको छ ।

कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ३२ लाख १३ हजार १९५ कित्ता सेयरको कारोबारबाट १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसमूहमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । सबैभन्दा बढी जीवन बीमा उपसमूहको ९७.६६ अंकले बढेको छ । नीर्जिवन बीमातर्फ ६२.४४ अंकले, माइक्रोफाइनान्सतर्फ ३३.१९ अंकले र विकास बैंकतर्फ ३२.८९ अंकले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढि नबिल बैंक लिमिटेडको ६ करोड ३० लाख ६७ हजार ३८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।