
नेपाल राष्ट्र बैंकले २०७७ साउन १२ मा बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र गर्यो । सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा उल्लेखित सहुलियतपूर्ण कर्जाहरुमध्ये कृषि तथा पशुपंक्षीकर्जा बाहेक अन्य कर्जा शीर्षकमा ग्रामीण इलाकालाई प्राथमिकतामा राखी २०७८ असार मसान्तसम्म वाणिज्य बैंकले ५ सय वा न्यूनतम् प्रतिशाखा १० तथा राष्ट्रियस्तरका विकास बैंकले ३ सय वा न्यूनतम प्रतिशाखा ५ मध्ये जुन बढी हुन्छ, सोहीबमोजिम सहुलियतपूर्ण कर्जा प्रदान गर्नुपर्नेछ भन्ने आसयकाे परिपत्र थियाे।
साथै राष्ट्रियस्तर बाहेकका विकास बैंक तथा वित्तीय कम्पनीले क्रमशः न्यूनतम २ सय र १ सय वटा सहूलियतपूर्ण कर्जा प्रदान गर्नुपर्नेछ भनी निर्देशन जारी गर्यो । ब्याज अनुदान कर्जाहरुमध्ये विदेशबाट फर्केर आएका युवालाई १० लाखसम्मको कर्जा, महिला उद्यमशीलताको लागि १५ लाखसम्म कर्जा र कृषि व्यवसायको लागि १० लाखसम्मको कर्जा मुख्य कर्जा पाइने शीर्षकहरु हुन् । त्यसबाहेक अन्य ६ शीर्षकहरुमा समेत कर्जा लगानी हुने भएतापनि मुख्यतः यी ३ शीर्षकहरु नै प्राथमिकतामा छन् ।
परिपत्रअनुसार बाणिज्य बैंकहरुले प्रतिशाखा १० वटा, विकास बैंकहरुले प्रतिशाखा ५ वटा र फाइनान्स कम्पनीहरुले कम्तीमा १ सय वटा कर्जा गरेमा ४७ हजार ५ सय ८४ वटा कर्जा लगानी हुनेछ । यदि लगानी गरिएको कर्जाको सरदर रकम ७.५ लाख भएमा ३५ अर्ब ६८ करोड ८० लाख कर्जा लगानी हुनेछ । करिब ५० हजार हाराहारी कर्जा संख्या लगानी भयो र एउटा परिवारको सरदर संख्या ४ जना मानियो भने करिब २ लाख प्रत्यक्ष जनसंख्या लाभान्वित हुने र अप्रत्यक्ष रुपमा अन्य लाखौं नेपालीहरु यसबाट लाभान्वित हुने देखिन्छ ।
नेपालजस्तो गरीब देशको सबैभन्दा ठूलो समस्या बेरोजगारी रहेको नै हो । वर्षेनी लाखौं युवा रोजगारीको लागि विदेश धाउनुपर्ने बाध्यता रहेकोमा हाल विश्वव्यापी कोरोना महामारी कारण लाखौं नेपालीहरु घर फर्किरहेका छन् । विदेशमा रहेका युवाको परिवारका सदस्य ती युवाको कमाइमा निर्भर रहनुपर्ने अवस्था रहेकोले यसले तिनीहरुको जनजीवनमा निकै ठूलो असर पारेको छ ।
नेपालमा धेरैजसो महिलाहरु गृहिणीमा मात्र सीमित रहेका र तिनीहरुको अर्थतन्त्रको विकासमा उल्लेख्य सहभागिता हुन नसकेकोले ती महिलाका परिवारका सदस्य वेरोजगारी रहे भने देशको अर्थतन्त्रमा नकारात्मक असर परी देश र युवाको भविष्य अन्धकार हुने भएकोले सर्वप्रथम तिनीहरुलाई कुनै न कुनै काममा संलग्न गराउन सके सबै पक्षहरुको हित हुने भएकोले ती युवालाई देशमा नै काम गर्न आकर्षित गर्न ब्याज अनुदान कर्जाले सकरात्मक भूमिका खेल्न सक्छ ।
कक्षा ९ को नेपालीमा चाँंदनी शाहद्वारा लिखित कवितामा पुष–माघको जस्तो पारिलो घाम बनेर यो आकाश र धर्ती बीच कुहिरो हटाइदेऊ तिमी भन्दै आकाश भनेर धनी र धर्ती भनेर गरीबलाई संकेत गर्दै धनी र गरीबबीचको खाडल हटाउनुपर्ने देशको आवश्यकता रहेको उल्लेख गरिएको छ । अमेरिकी लेखक तथा पत्रकार माइकल पोलनले गरीब र भुँडे (धनी) बीचको अन्तर कृषि नीति र अनुदानद्वारा पत्ता लगाउन सकिन्छ भनेका छन् ।
नेपालजस्तो गरीब राष्ट्रको आर्थिक विकास तल्लो तहका जनताहरुको आर्थिक विकास नभएसम्म सम्भव हुँदैन । भारतले विगत एक दशकभन्दा बढी समयबाट राम्रो आर्थिक विकास गर्न सफल भइरहेको छ । तर, कुनै बखत अटलविहारी वाजपेयी प्रधानमन्त्री हुँदा समग्र देशले राम्रै आर्थिक वृद्धि हासिल गर्न सफल भइरहँदा पनि विभिन्न राज्यमा धेरै किसानले आत्महत्या गर्नुपरेको समाचार प्रकाशित भएका थिए । जुन सरकारलाई ठूलो झड्का थियो । भारत सरकारले तल्लो वर्गको जनताहरुलाई समेट्ने काम नगरेको विश्लेषण गरिएको थियो ।
भूपरिवेष्ठित देश नेपालले पटक–पटक नाकाबन्दीको सामना गर्नुपरेको र खाद्यान्न तथा तरकारीहरुमा समेत आयातमा भर पर्नुपरेको र जसको कारण नेपालको अर्थतन्त्र परनिर्भर रहेको अवस्थामा ब्याज अनुदान कर्जा अर्थतन्त्रको परनिर्भरता कम गरी तल्लो वर्गलाई समेत आर्थिक विकासमा सहभागि गराउन एउटा महत्वपूर्ण वित्तीय औजार हुनेमा दुईमत छैन ।
प्रकाश सायमी निर्देशित एवं राजेश हमाल, धीरेन शाक्य लगायत कलाकार अभिनित २०५२ सालमा रिलिज चलचित्र ‘सिमाना’ मा एउटा गीत छ–
उकाली ओह्राली गर्दै
आँखाभरि रहर भर्दै
आँधीबेहरीसँग लड्दै
खोला नदी सागर तर्दै
दुःख पीडा बिर्संदै म आएँ,
परदेशबाट फर्की आएँ
आफ्नो गाउँ फर्की आएँ
नयाँ–नयाँ सपना ल्याएँ …….. ।
चलचित्र ‘सिमाना’ को यो गीतजस्तै अहिले विदेशबाट फर्किएका लाखाै युवा आफ्नो गाउँ फर्किएर नयाँ सपना बोकेर आएका छन् । ती युवाको सपना पूरा भएमा देशलाई पनि फाइदा पुग्छ र अहिलेको परिस्थितिमा यी सपना देशकै सपना बनेको छ । सर्वप्रथम ती युवालाई यहीँ केही काम गर्न, व्यवसाय गर्न उत्प्रेरणा दिएर केही न केही काममा संलग्न गराउनुपर्दछ । नेपालमा पनि प्रशस्त अवसर रहेको छ । आफ्नै देश, आफ्नै गाउँमा परिवारसँगै बसेर पनि भविष्य उज्यालो बनाउन सकिन्छ भनेर सम्झाउने बुझाउने गर्नुुपर्दछ । यसमा राज्यस्तरदेखि स्थानीयस्तर र संघसंस्था तथा समाजले सहयोग गर्नुपर्छ ।
विदेशबाट फर्केका युवा लामो समयसम्म विदेशमा रहदा एउटा छुट्टै वातावरणको बानी परेको कारणले केही समयसम्म उनीहरुलाई असहज हुनसक्छ । तर एउटा नयाँ सपना बनाउन लागिपरेको मानिसले परिस्थिति अनुसार बानी परिवर्तन गर्न पनि तयार हुनुपर्छ । नेपालमा अवसर छैन भन्ने सोच लिएर विदेश गएकाहरुले त्यो सोच परिवर्तन गरेर नेपालमा अथाह सम्भावना छ भन्ने सोचका साथ काम गर्नुपर्छ । यसरी सोच परिवर्तन गरेमा उनीहरुले धेरै क्षेत्रमा सम्भावना देख्न सक्छन् ।
केही वर्षदेखि विदेशमा लामो समय कार्य गरेर नेपाल फर्केर कृषि, रेष्टुरेन्ट व्यवसाय, अनलाइन व्यवसाय, आइटी क्षेत्रजस्ता क्षेत्रमा काम गरेर राम्रो रकम आर्जन गरिरहेको धेरै मानिसहरु छन । उनीहरुले नेपालमा नै उदाहरणीय कार्य गरेर देखाइरहेका छन् । ती उदाहरणीय मानिसहरुले नेपालमा पैसा हावामा उडिरहेको छ, टिप्नमात्र जान्नुपर्छ भन्ने भावना लिएर काम गर्न थाले । मिहिनतसाथ काम गरेर राम्रो सफलता प्राप्त गर्न पनि सफल भए ।
पहिला–पहिला नेपालीहरुमा पढेको मानिसले जुन पायो त्यही काम गर्नु हुदैन, पढेपछि अफिसमा काम गर्नुपर्छ, हाकिम बन्नुपर्छ भन्ने मान्यता रहेकोमा विगत केही वर्षयता स्नातकोत्तर हासिल गरेका ब्यक्तिहरु समेत पेन्टर, इलेक्ट्रिसियन, ग्रिल व्यवसाय, हजाम व्यवसाय, कार्पेन्टर, पशुपालनजस्ता व्यवसायमा संलग्न हुन थालेका छन् । कुनै पनि काम ठूलो वा सानो हुँदैन । कामको सम्मान गर्नुपर्छ भन्ने मनमा भावना लिएर विदेशमा जस्तै मिहेनत र लगनसाथ काम गर्यो भने नेपालमा सफलता प्राप्त गर्न कसैले रोक्न सक्दैन ।
सकारात्मक तरिकाले सोच्ने हो भने ती युवा जो विदेशबाट फर्किएका छन्, जो विदेश जान रोकिएका छन्, जो भविष्यमा विदेश जाने याेजना बुनिरहेका छन , तिनीहरुको लागि नेपालमै बसेर, यहीँ पसिना बगाएर देशको आर्थिक विकासमा टेवा दिने अहिले एउटा सुनौलो अवसर आएको छ । देशमा नै सेवा गर्ने यो काम मात्र नभई देश विकासमा योगदान दिने पनि सुनौलो अवसर हो ।
यसबाट देश विकास गर्न सुनौलो अवसर प्राप्त हुनेमात्र नभई ती व्यक्तिहरुले आफ्ना बुवाआमाको बुढेसकालमा लठ्ठी बनेर सहारा दिने अवसर समेत प्राप्त गर्छन् । आफ्ना आमाबुवा तथा परिवारको सहारा बन्ने यस्तो सुनौलो अवसरको भरपूर फाइदा उठाउँदै देश विकासमा पनि योगदान दिने सुनौलो अवसर पाउँदा काम ठूलोसानो नमानीकन कामको सम्मान गरेर अगाडि बढ्नुपर्छ । देशमा धेरै सम्भावना छ । ब्याज अनुदान कर्जाले विदेशिएका युवालाई आमाबुवाको निम्ति बुढेसकालको लठ्ठी बनेर सहारा बन्ने अवसर जुटाइदिएको छ ।
(लेखक मल्ल बैंकर हुन्)









चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




