जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण: गृहमन्त्री खाण

-



     सफल आवाज    
     वैशाख ७ गते २०७९ मा प्रकाशित



बुटवल, ७ वैशाख । सरकारका गृहमन्त्री बालकृष्ण खाणले जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको बताएका छन । गृहजिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उनले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे ।

“शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको समुचित प्रबन्ध गरेको छौँ, आवश्यक परे हवाइगस्ती गर्छौं”, उनले भने । गृहमन्त्री खाणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एकैपटकमा एकैदिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको समेत बताए ।

नेपाल कम्युनिष्ट पार्टीलगायतका अन्य केही दलले निर्वाचनमा पहिलोपटक भाग लिने बताउँदै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे ।

। नेपाली कांग्रेसका नेता खाणले आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेलाई कारबाही गरिनेसमेत बताए । निर्वाचनमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको उनको भनाइ थियाे ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा सर्वोच्चले गरेको फैसलाबारे पत्रकारले राखेको जिज्ञासाबारे गृहमन्त्री खाणले न्यायालयको निर्णयको सम्मान गर्ने बताए ।

चैत २५ गतेदेखि निलम्वनमा परेका अधिकारीलाई मङ्गलबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले मङ्गलबार पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।