स्वदेशी पूँजी,सीप र श्रमलाई उच्चतम प्रयोगमा जाेड दिदैं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

-



     सफल आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित


फाइल तस्वीर


विराटनगर, १३ वैशाख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्वदेशी पूँजी,सीप र श्रमलाई उच्चतम प्रयोगमा ल्याउन जाेड दिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ मोरङद्वारा आयोजित तेस्रो त्रैमासिक (नौ महिनाको) समीक्षा गोष्ठीमा स्वदेशी पूँजी, स्वदेशी सीप र श्रमलाई उच्चतम प्रयोग गर्न तथा चकलाबन्दी खेती गरी बालिमा विविधता ल्याउन सबैलाइ अनुराेध गरिएकाे थियाे ।

कार्यक्रममा परियोजना कार्यान्वय एकाइ मोरङका प्रमुख रामबलमप्रसाद साहले प्रदेशभरिको नौ महिनाको प्रगति विवरण पेस गरेका थिए भने परियोजना व्यवस्थापन एकाइ काठमाडौँका विज्ञ तीर्थराज श्रेष्ठ र प्रदेश नं १ कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेलले परियोजनाको विविध पक्षमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

विसं २०७३ देखि सञ्चालित परियोजनाको अवधि १० वर्षको रहने र यस वर्ष प्रदेश नं १ मा वित्तीय प्रगति ३१ दशमलव चार प्रतिशत मात्र रहेको बताइएको छ । ब्लक, जोन र सुपर जोन रहेको प्रदेशमा अहिलेसम्म परियोजनाले ३१ हजार ८९ हेक्टर जग्गामा विविध बालीले प्राथमिकता पाएको जनाइएको छ ।

व्यवस्थापन एकाइ काठमाडौँका विज्ञ तीर्थराज श्रेष्ठले आफ्ना कार्यपत्रमार्फत परियोजना ७७ जिल्लामै सञ्चालित रहेको, बाली विशेषको जोन, सुपर जोन सङ्ख्याअन्तर्गत सुपर जोन १६, जोन १७७, आर्थिक वर्ष २०७८-७९ मा विनियोजित बजेत रु सात अर्ब ८३ करोड, जोन-सुपरजोन सङ्घीय निकाय रु तीन अर्ब तीन करोड १९ लाख रहेको बताए । ब्लकतर्फ रु दुई अर्ब दुई करोड ९० लाख, ब्लक ९९९, कृषि ब्लक ८४६ र पशु सेवाको ब्लक १५३, पकेटतर्फ रु दुई अर्ब ७६ करोड ९१, स्थानीयतर्फ पकेटको सङ्ख्या तीन हजार २६४ मा कृषि पकेट दुई हजार ३०८ र पशु सेवाको पकेट ९७६ रहेको जानकारी दिए ।

प्रदेश नं १ का कृषि सचिव मेघनाथ तिमल्सेनाले दक्ष जनशक्ति नभएसम्म खोजेअनुसारको प्रगति हासिल नहुने भन्दै कृषिमा लगानी गरेर प्रशस्त रोजगारी सिर्जना गर्न सकिने बताए। उनले तीन तहकै सरकारले कृषिलाई अपनत्व बनाउनुपर्ने सुझाव दिँदै अनेक चुनौतीको बाबजुद पनि कृषि अघि बढेको र यसमा उद्योग मन्त्रालयले पनि अग्रसरता देखाउनुपर्नेमा जोड दिए ।

एक्लैबाट कृषि सम्भव नभएकाले सहकारीको अवधारण आएको बताउँदै सचिव तिमल्सेनाले भने “किसानको आर्थिक रुपान्तरण गर्न र देशलाई समृद्ध बनाउन कृषिलाई उच्च प्राथमिकता राख्नै पर्छ ।” बीमा समेतको उलब्धतता, अनुदान समेतको व्यवस्था भएको कृषिमा युवालाई आकर्षित गराउन सहुलित क्रृणको पनि व्यवस्था भएको भन्दै सचिव तिमल्सेनाले सबै किसिमको बाली उत्पादन गर्न सिँचाइ सुविधा हुनुपर्नेमा जाेड दिए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सेनाले उत्पादनमा आत्मनिर्भर बनाउन कृषिमा युवाहरुलाई प्रवेश गराउनुपर्ने भन्दै कृषि आम नागरिकको रुचि बत्रुपर्ने सुझाव दिएका थिए।