
बागलुङ, २२ वैशाख । खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा दश रेफ्रिजेरेटरमा अट्ने जति खोप भण्डारण गर्न सकिने छ ।
यसअघि भण्डारण क्षमता कम हुँदा यहाँ कोभिड–१९ विरुद्धको खोप आपूर्ति र वितरणमा समस्या भएको थियो । थपिएको भण्डारण क्षमताले बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङलाई समेत पुग्ने निर्देशक खड्काले बताए। “धौलागिरि क्षेत्रमा खोप भण्डारण र वितरण केन्द्र अब बागलुङ बन्छ”, उहाँले भन्नुभयो, “खोप सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन यसबाट ठूलो मद्दत पुग्छ ।”
निर्देशक खड्काका अनुसार योसहित गण्डकी प्रदेशमा ठूलो क्षमताका चार ‘वाकिङ कुलर’ सञ्चालनमा ल्याइएको छ । यसबाट ५० लाख जनसङ्ख्यालाई पुग्ने खोप भण्डारण गर्न सकिनेछ । गण्डकी प्रदेशको जनसङ्ख्या झण्डै २५ लाख छ । कोभिड–१९ महामारीका बेला खोप सेवालाई दु्रत र प्रभावकारी बनाउन सरकारले देशभर भण्डारण क्षमता विस्तारमा जोड दिएको थियो ।
स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले दश घण्टासम्म बिजुली नआउँदा पनि यसको प्रणालीले आफै धान्ने बताए । त्योभन्दा बढी समय बिजुली नआएमा भने जेनेरेटर प्रयोग गर्नुपर्छ । खत्रीले अबदेखि कोभिड–१९ जस्ता जुनुसुकै महामारी आउँदा पनि खोप आपूर्ति, भण्डारण र वितरणमा समस्या नहुने बताए।
बालबालिकाले पाउने नियमति खोप सेवादेखि अन्य जुनसुकै खोप सेवाको गुणस्तरीयता बढाउन पनि उक्त चिस्यान कोठाले सघाउ पु¥याउने स्वास्थ्य कार्यालयले जनाएको छ । कुनै सामान्य तापक्रम त कुनै अत्यधिक चिसोमा राख्नुपर्ने खोप हुन्छन् । अत्यधिक चिसोमा राख्नुपर्ने खोपका लागि भण्डारण क्षमता कम भएपछि सरकारले ‘वाकिङ कुलर’को विस्तारमा लगानी बढाएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले कोभिड–१९ महामारीले खोपको भण्डारण क्षमता विस्तारका लागि आफूहरुलाई झकझक्याएको बताए । उनले यहाँको ‘वाकिङ कुलर’ले धौलागिरि क्षेत्रकै खोप सेवा सञ्चालनमा टेवा पुग्ने उल्लेख गरे। “भण्डारण क्षमताको कमीका कारण खोपको आपूर्ति र वितरण प्रभावित हुने अवस्थाको अब अन्त्य भएको छ”, उनले भने ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




