साताकाे २ दिने बिदा बैंकहरूमा समेत लागू हुने, बिहान साढे नाै देखि नै बैंक खुल्ने

-



     सफल आवाज    
     वैशाख २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकले २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी बैंकमा शनिबार र आईतबार दुई दिन बिदा दिईने जानकारी गराएको छ । राष्ट्र बै‌कले जारि गरेकाे निर्देशन अनुसार बै‌क जेठ १ गतेदेखि बिहान साढे ९ बजे खुल्ने भएका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बिदा सम्बन्धी २०७९ साल वैशाख २८ गतेको स्वीकृति टिप्पणी अनुसार सो बिदाका लागि सम्पूर्ण विभाग, महाशाखा, कार्यालय र इकाईहरुमा जानकारी गराईएको छ ।

अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० देखि अपरान्ह ५.३० वजेसम्म कायम गरिएको छ । तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९.३० देखि अपरान्ह ४.३० सम्म कायम हुने बैंकका जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

२०७९ सालमा पर्ने दशैं तथा तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेश्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने आरटिजिएस सेवा, मौद्रिक व्यवस्थापनका सेवा तथा प्रदेशस्थित कार्यालयका अत्यावश्यक बैंकिङ सेवालाई नियमित गर्न सिमित संख्यामा कर्मचारी खटाई निर्धारित समयसम्म कार्यालय संचालन हुने जनाईएको छ ।

बैंकिङ कारोबार सोमबारदेखि शुक्रबारसम्म बिहान ९.३० देखि अपरान्ह ४.०० सम्म कायम गर्ने र कार्तिक १६ देखि माघ १५ सम्म ९.३० देखि अपरान्ह ३.३० सम्म कायम रहने उल्लेख छ ।

राष्ट्र बैंकले शुक्रबार पनि बैंकको निर्धारित कार्यालय पोशाक कायम गर्ने जनाएकाे छ । यस्तै विभाग, कार्यालय, महाशाखा र इकाईले प्रत्यक्ष सेवाग्राहीले एकै दिनमा सम्पन्न हुने एकै सेवाका लागि थप अर्को साता आउनु पर्ने अवस्था सिर्जना हुन नदिने गरी व्यवस्थापन गर्ने जनाईएको छ । बैंकले दुई दिन बिदाबाहेकका हप्ताभरीका कामको अध्ययन र मूल्यांकनको अभिलेखिकरण हुने जनाएको छ ।

राष्ट्र बैंककाे बिदा सम्बन्धी पत्र तलकाे बक्समा छ पढौं ।