तनहुँमा एमाले चार, कांग्रेस दुई र माओवादी केन्द्र एक पालिकामा विजयी

- व्यास–८ रिस्तीमा आज पुनः मतदान

-



     सफल आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित



तनहुँ, ४ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका सातवटा पालिका र ५१ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका सात पालिकामध्ये नेकपा (एमाले)ले चार, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक पालिका जितेका छन् ।

त्यस्तै मतपरिणाम सार्वजनिक भएका ५२ वडामध्ये एमालेले २२, कांग्रेसले २४ र माओवादीले छ वडामा जित हासिल गरेका छन् । शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मतगणना जारी छ । व्यास नगरपालिकाको भने आज दुईवटा मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै मतगणना गर्ने तयारी छ । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ ।

एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ । नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष र बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा देवघाट गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी भए । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी भए। देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भए। त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी भए।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल र देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी भए। ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी भए । एमालेले म्याग्दे–१, म्याग्दे–३, म्याग्दे–७, बन्दीपुर–१, बन्दीपुर–४, बन्दीपुर–६, घिरिङ–२, घिरिङ–३, घिरिङ–४, देवघाट–१, देवघाट–४, भिमाद–२, भिमाद–३ मा, भिमाद–७, भिमाद–८, भिमाद–९, भानु–२, शुक्लागण्डकी–५, शुक्लागण्डकी–६, शुक्लागण्डकी–८ र आँबुखैरेनी–६ को वडाध्यक्ष जितेको छ ।

कांग्रेसले भिमाद–१, भिमाद–४, भिमाद–६, म्याग्दे–२, म्याग्दे–४, म्याग्दे–५, म्याग्दे–६, ऋषिङ–२, ऋषिङ–३, ऋषिङ–४, ऋषिङ–५, ऋषिङ–६, घिरिङ–१, शुक्लागण्डकी–१, शुक्लागण्डकी–२, शुक्लागण्डकी–३, शुक्लागण्डकी–४, देवघाट–२, देवघाट–५, आँबुखैरेनी–३, आँबुखैरेनी–४, भानु–१, भानु–१२ र बन्दीपुर–३ को वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले आँबु–१, आँबुखैरेनी–२, ऋषिङ–१, बन्दीपुर–२, बन्दीपुर–५ र आँबुखैरेनी–५ को वडाध्यक्ष जितेको छ । स्वतन्त्र उम्मेदवारले भानु–१३, ऋषिङ–७ र ऋषिङ–८ को वडाध्यक्ष जितेको छ ।

दोहोरिन खोज्दा चार पराजित

विसं २०७४ को स्थानीय तहको निर्वाचनबाट विजय भएर पुनः दोहोरिन खोज्ने तीन पालिकाका प्रमुख यसपटक पराजित भए । एमालेबाट देवघाटको अध्यक्षमा दोहोरिएका दुर्गाबहादुर थापा यसपटक पराजित भए। काङ्ग्रेसबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा दोहोरिएका गिरबहादुर थापा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दोहोरिएका मायादेवी राना यसपटक पराजित भए।

यस्तै बन्दीपुर गाउँपालिकाको अध्यक्षमा दोहोरिएका पूर्णसिं थापा र उपाध्यक्ष करुणा गुरुङ झिनो मतान्तरले पराजित भए। कांग्रेसबाट म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा दोहारिएका बालकृष्ण घिमिरे भने यसपटक पनि विजयी भए। यसपटकको स्थानीय तह निर्वाचनमा फरक नतिजा आएको छ । गत निर्वाचनमा एउटा पार्टीले जितेका ठाउँमा अहिले अर्को पार्टीले जितेको छ ।

व्यास–८ रिस्तीमा आज पुनः मतदान

तनहुँको व्यास नगरपालिका–८ स्थित रिस्तीमा आज पुनः मतदान हुने भएको छ । पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले रद्द गरेको मतदान हुन लागेको हो । पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार गाविस भवन फेदी मतदान (क) र (ख) मा मतदान अधिकृत नियुक्त गरेर परिचालन गरिसकिएको छ ।

(क) मतदान केन्द्रमा सात सय ५६ र (ख) मतदान केन्द्रमा आठ सय २० मतदाता रहेका छन् । पुनः मतदान कार्यलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्था चुस्त बनाइएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । बिहान ७ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । उक्त मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार र निजको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमतिप्राप्त व्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।