एक चीन सिद्धान्तलाई धुमिल पार्ने दुष्प्रयास नगर्न बेइजिङको आग्रह

-



     सफल आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित



बेइजिङ १० जेठ । चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको टिप्पणीको प्रतिक्रियामा बेइजिङले त्यस्तो आग्रह गरेको हो ।

प्रवक्ता प्राइसले अमेरिकी नीतिलाई चीनले गलत ढङ्गले प्रस्तुत गरेको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा प्राइसले संयुक्त राज्य अमेरिका तथाकथित ‘ताइवान सम्बन्ध ऐन, तीन संयुक्त विज्ञप्ति र छ वटा आश्वासनद्वारा निर्देशित रहेको, लामो समयदेखिको द्विपक्षीय सम्बन्ध र एक–चीन नीतिप्रति आफ्नो देश प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

प्रवक्ता प्राइसको उक्त अभिव्यक्ति तथ्य र इतिहासलाई विकृत पार्ने प्रयास गरिएको प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता वाङ वेनबिनले एक चीन सिद्धान्त र शर्तको अमेरिकाले पालना गर्नुपर्नेमा जोड दिए । चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषय ताइवान भएको उल्लेख गर्दै उनले ताइवान मुद्दाको मूलजड नै ‘एक चीन’ भएको स्पष्ट गरे ।

उनले भने– संसारमा एउटा मात्र चीन छ, ताइवान चीनको एक हिस्सा हो, र जनवादी गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो ।यो एक चीन सिद्धान्तको मूल अवधारणा हो, जुन अन्तर्राष्ट्रिय समुदायको सहमति र अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यता बनेको छ । अमेरिकासहित एकसय ८१ देशले एकचीन सिद्धान्तलाई मान्यता दिँदै चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका बताउँदै उनले एक चीन सिद्धान्तलाई दृढतापूर्वक चीनले पालन गरेको तथा त्यस विषयमा कुनै पनि सम्झौता वा छुट नहुने बताए ।

सन् १९७१ मा संयुक्त राज्य अमेरिकाले ताइवान मामिलामा नयाँ सिद्धान्तको परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरेको, विश्वमा एक मात्र चीन रहेको तथा ताइवानलाई चीनको एक अभिन्न भागका रुपमा स्वीकार गर्दै ताइवान स्वतन्त्रता आन्दोलनलाई समर्थन नगर्ने वचन दिएको प्रवक्ता वाङले स्मरण गराए ।

सन् १९७२ मा जारी गरिएको साङ्घाई वक्तव्यमा पनि अमेरिकी पक्षले ताइवानलाई चीनको एक भागका रुपमा स्वीकार गरी त्यसलाई चुनौती नदिने प्रतिबद्धता जनाएको उनले बताए । अमेरिकाबाट व्यक्त यी प्रतिबद्धताबाटै चीन–अमेरिका सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया प्रारम्भ भएको उनको भनाइ थियो ।

सन् १९७८ मा जारी गरिएको चीन–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले ‘जनवादी गणतन्त्र चीनको सरकारलाई चीनको एकमात्र कानुनी सरकारको रूपमा मान्यता दिएको र चीन र ताइवान एउटै हुन् भन्ने चिनियाँ अडानलाई स्वीकार गरेको,’ उनले स्पष्ट गरे ।